
नुवाकोट । राष्ट्रिय बाल दिवस–२०८२ को अवसरमा नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल, जिल्ला कमिटी नुवाकोटले ‘प्रथम जिल्लास्तरीय अन्तरमावि हाजिरीजवाफ प्रतियोगिता’ आयोजना गरेको छ ।
प्रतियोगितामा भाग लिन चाहने विद्यालयलाई तीनजना विद्यार्थीको नाम यही भदौ २४ गते भित्र राष्ट्रिय युवा संघ, नुवाकोटमा उपलब्ध गराउन आग्रह गरिएको छ ।
राष्ट्रिय युवा संघ, नुवाकोटले आज विदुरमा पत्रकार सम्मेलनको आयोजना गर्दै ‘दक्षता एंव योग्यताको विकास’ भन्ने नारा सहित आयोजना गरिएको प्रतियोगितामा उत्कृष्ट हुने विद्यालयलाई नगद रुपैयाँ सहित शिल्ड मेडल र प्रमाणपत्र उपलब्ध गराउने जिल्ला अध्यक्ष प्रज्वल सापकोटाले जानकारी दिनुभयो ।
उहाँको अनुसार पहिलो हुने विद्यालयले १० हजार, दोश्रो हुनेले ७ हजार र तेश्रो हुने विद्यालयले पाच हजार रुपैयाँ पुरस्कार राखिएको छ । प्रतियोगितामा ५० भन्दाबढी विद्यालयको सहभागिता हुने अनुमान गरिएको छ । प्रतियोगिता सञ्चालनको लागी सुभेनियर बोर्डिङ स्कुलसंग समन्वय गरिएको हुदाँ सञ्चालनको जिम्मेवारी पनि उक्त विद्यालयका शिक्षक काजी खानलाई दिइएको छ ।
प्रतियोगिता सञ्चालनको संयोजकको जिम्मेवारीमा रहनुभएका काजी खानको अनुसार प्रतियोगितामा सहभागी विद्यालयहरुबाट पहिलो चरणमा उत्कृष्ट दश विद्यालय छनोट गरिनेछ भने त्यस पश्चात उत्कृष्ट चार विद्यालय छनोट गरिने फाइनल प्रतियोगिता सञ्चालन हुनेछ ।
प्रतियोगितामा उत्कृष्ट दशमा छनोट भएका टिमलाई सोधिने प्रश्नहरु स्थानीय विषयवस्तु, लोकसेवा, पछिल्लो एकवर्षको समसामयिक विषयवस्तु, नेपालको ईतिहास र विश्व खेलकुदसंग सम्बन्धित विषयमा रहने छन् ।


त्यसपश्चात उत्कृष्ट चार विद्यालय छनोट भएपछि अडियो राउण्ड, दृष्य राउण्ड, बजर राउण्ड, र्यापिङ फायर राउण्डका आधारमा प्रश्नहरु सोधिने उल्लेख छ ।
प्रतियोगिता यही भदौ २७ गते बाजेको सेकुवा बट्टारमा हुनेछ ।
19.12¡ÆC