
नुवाकोट । नेपाली नारीहरूको महान चाड हरितालिका तिजको अवसरमा लिखु गाउँपालिकाको आयोजनामा शुभकामना आदान–प्रदान तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ।
लिखु गाउँपालिका अध्यक्ष ध्रुव श्रेष्ठको प्रमुख आतिथ्यता र उपाध्यक्ष शुभद्रा अधिकारीको सभापतित्वमा आयोजित कार्यक्रममा गाउँपालिकाभित्रका विभिन्न स्थानका महिला दिदीबहिनीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले तिज पर्वलाई महिलाहरूका लागि केवल चाड नभई संस्कृतिको निरन्तरता, अधिकार र न्याय प्राप्तिको अभियान, माइतीघरप्रतिको सामिप्यता र गीतमार्फत सुखदु:ख साटासाट गर्ने महत्वपूर्ण अवसरको रूपमा वर्णन गर्नुभयो।
उपाध्यक्ष अधिकारीले महिलाहरू आधा आकाश हुन् भन्दै घरदेखि देशको विकासमा उनीहरूको सक्रिय र प्रभावकारी भूमिकालाई उल्लेख गर्नुभयो। उहाँले अवसर पाएमा महिलाहरूले पुरुषसरह प्रतिस्पर्धा र कार्यक्षमता देखाउन सक्ने भएकाले यस्ता पर्वहरू सशक्तीकरणमा सहयोगी हुने बताउनुभयो ।
कार्यक्रममा विविध सांस्कृतिक प्रस्तुति, नृत्य, गीत र अन्य मनोरञ्जनात्मक कार्यक्रमहरूमार्फत महिलाहरूको कला र प्रतिभाको प्रदर्शन गरिएको लिखु गाँउपालिकाको सामाजिक विकास शाखा प्रमुख पार्वती ढकालले जानकारी दिनुभयो ।
कार्यक्रमका सहभागीहरूले तिज पर्वसंग सम्बन्धित सांस्कृतिक गीत तथा नृत्यमार्फत आ–आफ्ना प्रस्तुती दिँदै महिलाको सशक्तीकरण, अधिकार र संस्कृतिको जगेर्नासहितको सन्देश प्रवाह गरेका थिए।
लिखु गाँउपालिकाको रोजगार सेवा केन्द्रकी प्रमुख खिमाकुमारी सुवेदीका अनुसार प्रतियोगितामा सहभागिता जनाउँदै महिलाहरूले आ–आफ्ना सिर्जनात्मक तिज गीत प्रस्तुत गरेका थिए भने सामूहिक रुपमा दर खाने कार्यक्रम पनि आयोजना गरिएको थियो।
कार्यक्रमले महिलाको आत्मविश्वास अभिवृद्धि गर्नुका साथै सामाजिक सद्भाव र सांस्कृतिक एकतालाई थप मजबुत बनाएको सहभागीहरूको धारणा रहेको छ ।
लिखु गाँउपालिकाको प्राङ्गण भलाद्मीडाँडामा आयोजित कार्यक्रममा पालिकाको विभिन्न ६ वटै वडामा रहेका विभिन्न संघसँस्था, समूह तथा क्लबमा आबद्ध रहेका, महिला स्वास्थ्य स्वयंम सेविकाहरु, विद्यार्थी छात्राहरु सहितको एक हजार हाराहारीमा महिला दिदीबहिनीको सहभागिता रहेको थियो ।
23.12¡ÆC