तारकेश्वरमथि नियोजित अफवाह भइरहेकाले यथार्थ बुझ्न अध्यक्ष अधिकारीको आग्रह

साउन ३०, २०८२ मा प्रकाशित | 399 views


नुवाकोट । तारकेश्वर गाउँपालिका–५ स्थित शंखादेवी मावि र वडा नं ४ को दर्शनटार कृषि सहकारीका सम्बन्धमा सामाजिक सञ्जालमा फैलाइएको नियोजित अफवाहप्रति गाउँपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ। गाउँपालिका अध्यक्ष शिव अधिकारी (अबिरल)ले आज विज्ञप्त जारी गर्दै ती विषयमा गलत जानकारी र आधारहीन प्रचार गरिएको बताउनुभयो।

उहाँले शंखादेवी माविको चेक अनादरसम्बन्धी विषय सरासर गलत रहेको र सम्बन्धित बैंकमा बुझ्दा त्यस्तो कुनै विवरण नपाइएको स्पष्ट पार्नुभयो। चेक अनादरका सम्बन्धमा बैंकलाई सोधिएको प्रश्नमा बैंकबाट दिइएको जवाफको पत्र सार्वजनिक गर्दै पालिकालाई समेत मुछेर भइरहेका गतिविधिमा सत्यता नभएको बताउनुभयो ।

विद्यालयमा भएका आर्थिक कारोबारको सम्बन्धमा नियामक निकायबाट छानबिन भइरहेको अबस्थामा पालिका र पालिकाको जिम्मेवार कर्मचारीलाई समेत मुछेर भएका गतिविधि प्रति अध्यक्ष अधिकारीले विज्ञप्त मार्फत खण्डन गर्नुभएको हो ।

यस्तै, दर्शनटार कृषि सहकारीका अध्यक्ष राजु पण्डितले पनि कुनै अनाधिकृत आर्थिक कारोबार नभएको पुष्टि गरिसकेको विष्यलाई सामाजिक सञ्जालबाट स्पष्ट बनाइसकेकाले उक्त विषयमा पनि गाउँपालिकालाई गलत रुपमा जोडिनु दुर्भाग्यपूर्ण रहेको अध्यक्ष अधिकारीले बताउनुभयो।

अध्यक्ष अधिकारी निर्वाचित भएर आएदेखि नै ‘समृद्ध तारकेश्वर अभियान’ अन्तर्गत पालिकामा तीव्र विकासको काम अघि बढिरहेको अवस्थामा केही स्वार्थी राजनीतिक गुट, उपगुट र गैरजिम्मेवार पत्रकारिताबाट नियोजित ढंगले आक्रमण गरिँदै आएको जारी गरिएको विज्ञप्तीमा भनिएको छ ।

गाउँपालिकाले विभिन्न किसिमका हल्लाहरुबाट विचलित नभई विकासको अभियानलाई निरन्तरता दिने दृढता व्यक्त गर्दै गलत र भ्रामक समाचार प्रकाशन गर्नेहरूलाई स्रोतको विश्वसनीयता परीक्षण गर्न तथा यथार्थ बुझ्न आग्रह गरेको छ ।

गाँउपालिका अध्यक्ष शिव अधिकारी ‘अबिरल’ले जारी गर्नुभएको विज्ञप्ती यस्तो छ :

प्रेस विज्ञप्ति

शुक्रबार, ३० साउन २०८२

तारकेश्वर ५, कल्लेरिडाँडास्थित श्री शंखादेवी मावि र तारकेश्वर ४, दर्शनटास्थित दर्शनटार कृषि सहकारीका विषयमा गाउँपालिकालाई समेत मुुछेर सामाजिक सञ्जालमा फैलाइएको नियोजित अफवाहप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । शंखादेवी माविको चेक भुक्तानीका सम्बन्धमा हालसम्म गाउँपालिकामा कुनै पनि उजुरी वा गुनासो नआए पनि सामाजिक सञ्जालमा भएका टिकाटिप्पणीलाई ध्यानमा राखी गाउँपालिकाले हिमालयन बैंक लि.को तारकेश्वर शाखालाई पत्र काटेर सो विषयमा जानकारी माग गरेको र बैंकले चेकमा भएका सबै हस्ताक्षर सक्कली नै रहेको जवाफ दिइसकेको अवस्थामा सो विषयमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत अनुसन्धान गरिरहेको हुँदा थप सत्यतथ्य आयोगले नै पत्ता लागाउने भएकाले त्यस प्रकरणमा गाउँपालिकाको कुनै भूमिका बाँकी नरहने स्पष्ट पार्न चाहन्छौँ । संवैधानिक आयोगमा विचाराधीन रहेको विषयमा अनावश्यक हल्लाबाजी गरी कसैको चरित्र हत्या गर्ने नियोजित दुस्प्रयासको हिस्सा नबनिदिनुहुन सम्बन्धित सबै पक्षमा आग्रह गर्दछौँ ।

दर्शनटार कृषि सहकारीका विषयमा सहकारीका अध्यक्षले नै हल्लामा आएजस्तो कुनै पनि आर्थिक कारोबार नभएको र सहकारीका कर्मचारीबाट अभिव्यक्त भएको भनिएको विषयमा कुनै सत्यता नरहेको भनी सार्वजनिक अभिव्यक्ति दिइसकेको र सो सम्बन्धमा सम्बन्धित कर्मचारीमाथि अनुसन्धान भइरहेको जानकारीमा आएको हुँदा सो सहकारी संस्थाको आन्तरिक अनुसन्धान र लेखापरीक्षणबाटै विषयको निरुपण हुने र आवश्यक परे गाउँपालिकाले समेत अनुसन्धान गरी आवश्यक कारबाही गरिने व्यहोरा सबैमा अनुरोध छ । सो सम्बन्धमा गाउँपालिकाका कुनै पनि पदाधिकारी वा कर्मचारीलाई जोडेर गरिएको दुस्प्रचारमा कत्ति पनि सत्यता नरहेकाले त्यस्तो दुस्प्रचारको पछि नलाग्नुहुन सम्पूर्ण तारकेश्वरवासीमा हार्दिक अनुरोध गर्दछौँ ।

विगत तीन वर्षदेखि तारकेश्वर गाउँपालिकाले समृद्ध तारकेश्वर अभियान चलाएर गाउँको सर्वांगीण विकास र समृद्धिको दिशामा द्रुत गतिमा काम अघि बढाइरहेका बेला स्वार्थ र पूर्वाग्रहले प्रेरित निश्चित राजनीतिक समूहभित्रका गुट–उपगुट र पत्रकारिताको खोल ओडेका केही परिचालित समूहबाट सुरुदेखि नै निरन्तर गाउँपालिका र जनप्रतिनिधिहरुमाथि नियोजित रुपमा दुस्प्रचार गरी मानमर्दन गर्ने र आफ्नो राजनीतिक अभिष्टपूर्तिका लागि स्थानीय सरकारलाई कमजोर पारेर धमिलो पानीमा माछा मार्ने प्रवृत्ति चलिआएको हुँदा सोही प्रवृत्तिको अंशका रुपमा आएका पछिल्ला हल्लाबाजीबाट कत्ति पनि बिचलित नभई समृद्धिको अभियानमा निरन्तर अघि बढ्ने प्रतिबद्धता जाहेर गर्दछौँ ।

गाउँपालिकाको यथार्थ नबुझी र स्रोतको विश्वसनीयता परीक्षण नगरी कसैको आत्मरतिमा साथ दिनकै लागि प्रकाशन गरिने हावादारी समाचारले कुनै अर्थ राख्दैन । यस्ता समाचारले पत्रकार र संचारगृहको नियत र विश्वसनीयतामा समेत गम्भीर संकट पैदा हुने हुँदा समाचार प्रकाशन गर्नुअघि सूचनाको सत्यता परीक्षण गरेर मात्र प्रकाशन गर्नुहुन र अदालत र अख्तियारमा बिचाराधिन रहेका विषयलाई अतिरन्जित नगर्नुहुन सबै पत्रकार साथीहरु र समाचार संस्थाहरुप्रति समेत हार्दिक अपिल गर्दछौँ । साथै, सामाजिक सञ्जालमा स्वार्थ समूहहरुबाट बारम्बार फैलाइने यी र यस्ता हल्लाको पछि नलागी यथार्थ बुझेर मात्र विश्वास र प्रसार गर्नुहुन सम्पूर्ण तारकेश्वरवासीमा हार्दिक अनुरोध गर्दछौँ ।

शिव अधिकारी ‘अविरल’
अध्यक्ष,
तारकेश्वर गाउँपालिका, नुवाकोट

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web