विदुरमा सडक विस्तारले गती लिदै, नगरप्रमुख राजन श्रेष्ठ घर भत्काउन व्यस्त, व्यवस्थित शहरको आशामा स्थानीय उत्साहित

साउन २, २०८२ मा प्रकाशित | 285 views


नुवाकोट । गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक आयोजना अन्तर्गत विदुर नगरपालिकाको मुख्य बजार क्षेत्रमा पर्ने गगटेदेखि ढुङ्गेसम्मको सडक विस्तारले तीव्रता पाएको छ। लामो समयदेखि मुआब्जा विवादका कारण रोकिएको चारलेन सडक विस्तार कार्य अहिले धमाधम अघि बढिरहेको हो ।

सर्वोच्च अदालतले सार्वजनिक सडकका लागि मुआब्जा नदिने तर घरटहरा लगायतका संरचनाको उचित क्षतिपूर्ति दिने निर्णय गरेसँगै स्थानीयबासीले नापजाँच गराई क्षतिपूर्ति लिएर आफ्ना संरचना हटाउन थालेका छन्। ढुङ्गेबाट सुरु भएको घर भत्काउने कार्य हाल विदुर बजार, बट्टार र गगटे क्षेत्रमा भइरहेको छ ।

यो सडक विस्तार लामो समयदेखि मुआब्जा विवाद, राजनीतिक मतभेद र जनप्रतिनिधिहरूको मिश्रित धारणा बीच अल्झिएको थियो। केही जनप्रतिनिधिहरूले अझै पनि सडक विस्तारको प्रक्रिया, क्षतिपूर्तिको पारदर्शिता र घरधनीको अधिकारप्रति प्रश्न उठाउँदै अबरोध गर्दै आइरहेपनि नगरप्रमुख श्रेष्ठले सडक विस्तारको लागी मापदण्ड अनुसारको स्थान खाली गर्न आफ्नो घर भत्काउन थाल्नुभएको छ ।

विदुर नगरपालिकाको नगरप्रमुख राजन श्रेष्ठको विदुर–४ स्थित बट्टारमा रहेको घर सडक मापदण्ड भित्र परेकाले भत्काउदै ।

यो साताको सुरुदेखि भत्काउन थालिएको बट्टार स्थित उहाँको घर अबको एक साताभित्र पूरा गर्ने लक्ष्य छ । यसअघि व्यावसायिक रुपमा होटल चलाउनको लागी भाडामा लगाइएको उहाँको घर भत्काउन सुरु गरेसगैँ स्थानीय छिमेकीहरुले पनि घरटहराको कानून बमोजिम पाउने क्षतिपूर्ति लिएर भत्काउन तम्तयार भएका छन् ।

नगरप्रमुख राजन श्रेष्ठ स्वयम् अगाडि सरे :
नगरप्रमुख राजन श्रेष्ठले विगत देखि नै सडक विस्तारको विकल्प नभएको भन्दै लिदै आउनुभएका स्पष्ट अडान अनुरुप आफ्नै घर भत्काएर सार्वजनिक मापदण्डअनुसारको सडक विस्तारमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको छ। उहाँले विकासका काममा कुनैपनि अवरोध नगरिने बताउँदै सबै पक्षलाई सहयोग गर्न आग्रह गर्नुभएको छ। नगरप्रमुख श्रेष्ठले भन्नुभयो, “यो विदुर नगरको मात्रै होइन, राष्ट्रिय गौरवको आयोजना हो। मैले आफ्नै घर भत्काएर अघि बढेको छु। आगामी दिनमा बाँकी रहनुभएका घरटहरना भत्काउनुपर्ने नगरबासीले विकासलाई साझा दायित्व ठान्छौं, तब मात्रै समृद्ध विदुर नगरको सपना पूरा गर्ने अठोट साकार हुनेछ ।”

जनताको साथ र अपेक्षा :
स्थानीयबासीले पनि नगरप्रमुख श्रेष्ठको स्पष्ट अडान र सडक विस्तारको लागी निरन्तरको लगनशीलता एंव सक्रियतालाई सकारात्मक रूपमा लिएका छन्। उनीहरूले अब गगटेदेखि ढुङ्गेसम्म चारलेनको सडक निर्माण हुने सपना पुरा हुनेमा विश्वास व्यक्त गरेका छन्।

विदुर नगरपालिका वडा नं २ स्थित विदुरमा सडक मापदण्ड भित्र परेका घर भत्काइदै ।

नगरप्रमुख आफैंले आफ्नै घर भत्काउनु भयो भने अरु केही जनप्रतिनिधिबाट भइरहेको असहयोग आफै तुइन्छ । नगरको विकास, देशको समृद्धिका लागी निर्माण हुन लागेको अन्तराष्ट्रिय एंव त्रिदेशीय मार्गलाई जोड्ने सडकमा जो बिरोध हुन्छ । एक्लो हुनुको विकल्प नहुने स्थानीयको प्रतिक्रिया छ ।

सडकले ल्याउने परिवर्तन :
विस्तारित सडकले विदुरलाई व्यवस्थित सहरका रूपमा अघि बढाउने, व्यापारिक गतिविधि बढाउने, पर्यटन प्रवर्द्धन गर्ने र जनजीवन सहज बनाउने आशा गरिएको छ। राजनीतिक मतभेदबीच पनि नगरप्रमुख श्रेष्ठको नेतृत्वमा विदुर चारलेन सडक विस्तारले गति लिएको छ। उहाँको व्यक्तिगत पहल, स्थानीयको साथ र जनअपेक्षाले अब विदुरको विकासको मार्ग अझै फराकिलो हुने देखिएको छ। सबै पक्षले सकारात्मक सोचका साथ सहयोग गर्न सकेमा विदुर चाँडै परिवर्तनको नमूना बन्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web