
नुवाकोट । विदुर नगरपालिकाले आमाबाबु बिहिन भएका बालबालिकालाई भत्ता रकम उपलब्ध गराएको छ ।
विदुर नगरपालिका, महिला तथा बालबालिका शाखा मार्फत बालबालिकालाई मासिक रु. २ हजारको दरले एक वर्षमा हुन आउने एकमुष्ट रकम रु.२४ हजार नगरप्रमुख राजन श्रेष्ठ, उपप्रमुख प्रभा बोगटी, प्रमुख प्रशासकीय अधिकृत शुभाकर पौडेल र वडा नं ९ का अध्यक्ष हरेराम भण्डारीले प्रदान गर्नुभयो ।
महिला तथा बालबालिका शाखा मार्फत संकलन गरिएको तथ्याङ्क अनुसार नगरपालिका भित्र बसोबास गर्दै आएका मध्ये आमाबुबा दुवै जनाको निधन भएका बालबालिकाको सङ्ख्या नौ जना रहेकाले ती बालबालिकालाई भत्ता बापतको रकम उपलब्ध गराइएको नगरप्रमुख राजन श्रेष्ठले जानकारी दिनुभयो ।
ती बालबालिकालाई शिक्षा, स्वास्थ्य उपचार, पोषाक लगायतमा पनि आवश्यकताको आधारमा सहयोग पु-याउने कार्यक्रम सञ्चालन गर्न उपप्रमुख प्रभा बोगटीले महिला तथा बालबालिका शाखा सहित मातहतलाई सुझाब दिनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत पौडेलले नगर भित्र बसोबास गर्दै आएको आमाबाबु दुवैको निधन भएका बालबालिका कोही छुटेको भएमा त्यसको जानकारी दिन आग्रह गर्दै छुट भएका सबैलाई समावेश गर्दै भत्ता रकम सहितको सहयोग उपलब्ध गराउने जनकारी दिनुभयो ।
संघीय सरकारले बनाएको कार्यविधिले विगतका वर्षमा बाबुआमाको संरक्षण भन्दा बाहिर रहेका बालबालिकालाई भत्ता रकम सहितको सहयोग उपलब्ध गराउने उल्लेख थियो । तर, यो वर्ष संशोधन भएर आएको कार्यविधिले बाबुआमा दुवैको निधन भएका बालबालिकालाई मात्र भत्ता रकम सहितको सहयोगका कार्यक्रम उपलब्ध गराइने उल्लेख रहेको छ ।
सोही कारण नगरले विगतका वर्षमा सहयोग दिदै आएका सबैलाई समेट्न नसकेको जनाएको छ ।
20.12¡ÆC