ड्रागन फ्रुटको खेतीबाट वार्षिक १० लाख रुपैयाँ आम्दानी

जेष्ठ २४, २०८२ मा प्रकाशित | 124 views


काठमाडौ । बडिगाड गाउँँपालिका–५ का ७७ वर्षीय बालकृष्ण अर्याल यतिबेला ड्रागन फ्रुट खेती गरेर वार्षिक १० लाख रुपैयाँ आम्दानी गर्न थाल्नुभएको छ । बागलुङको बडिगाड गाउँँपालिकामा जन्मिनुभएका अर्यालको कर्म घर भने गुल्मीको मुसिकोट नगरपालिका–१ भर्माचौर हो । त्यही ठाउँमा अर्यालले तीन वर्षदेखि व्यावसायिक रूपमा ड्रागन फ्रुट खेती गर्दै आउनुभएको छ ।

अर्यालले चार रोपनी जग्गामा तीन सय पोल गाडेर ड्रागन फ्रुटको खेती गर्दैआउनुभएको छ । उहाँको बगैँचामा रहेका हरेक पोलमा गरी एक हजार दुई सय ड्रागन फ्रुटका बोट रहेका छन् । तिनै बोटबाट अर्यालले गत वर्ष २० क्वीन्टल ड्रागन फ्रुट उत्पादन भएको अर्यालले बताउनुभयो ।

यसपटक ३० क्वीन्टल उत्पादन हुने उहाँको अनुमान छ । यसलाई विस्तार गर्नका लागि उहाँले गत वर्षदेखि ड्रागन फ्रुटका बिरुवासमेत उत्पादन गर्न थाल्नुभएको छ । अर्यालले बगैँचामा १५ जातका १८ हजारभन्दा बढी बिरुवा उत्पादन गर्नुभएको छ । उत्पादित बिरुवा ५० देखि दुई सय ५०सम्ममा बिक्री गर्ने गरेको उहाँले बताउनुभयो ।

उत्पादित फलले बजार पाए पनि बिरुवाले भने बजार पाउन नसकेको अर्यालले बताउनुभयो । उहाँले उत्पादन गर्नभएको ड्रागन फ्रुट बजारमा प्रतिकिलो पाँच सय रुपैयाँमा बिक्री हुने गर्दछ । गत वर्ष उहाँले ड्रागन फ्रुट बिक्री गरी दश लाख रुपैयाँ आम्दानी गरेको बताउनुभयो ।

बडिगाड–५ ग्वालीचौरमा रहेको भानु माध्यमिक विद्यालयमा ३३ वर्ष प्राधानाध्यापकको जिम्मेवारी सम्हालेर १५ वर्षअघि शिक्षण पेशाबाट अवकाश पाउनुभएका अर्याल यतिबेला ड्रागन फ्रुट खेतीमा रमाउनुभएको छ । उमेरले ७७ वसन्त टेक्नुभएका अर्यालका छोरा रोजगारीको क्रममा अमेरिका र अष्ट्रेलियामा हुनुहुन्छ ।

बुढेसकालमा छोरासँग देश विदेश घुमेर रमाउने समयमा उहाँ गाउँँमै बसेर कृषि कर्ममा रमाउनुभएको छ । अर्यालको यस्तो सक्रियताले गाउँँका धेरै व्यक्तिलाई उर्जा र प्रेरणा मिलेको छ । ‘शुरुमा मैले यो पेशा अगाँल्दा गाउँँलेलाई पत्यारै लागेन, धेरै जनाले यी पोल गाडेर यो बुढाले बुढेसकालमा के उपद्रो गर्न लाग्यो होला भनेर नाक चिम्राउँथे, कतिले यो नहुने काम गर्यो भनेर भने । तर गरे त हुँदोरहेछ नि’, अर्यालले भन्नुभयो ।

तिनै नाक चिम्राउने र विश्वास नगर्नेहरु अर्यालले बगैँचा भरी ड्रागन फ्रुट उत्पादन गरेको देखेपछि अचम्मित बनेका छन् । स्थानीय सरकारले पनि व्यावसायिक कृषकलाई अनुदान उपलब्ध गराउने नीति बनाएको मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले बताउनुभयो ।

बुढ्यौलीले ओरालो लाग्दै गर्दा र कपाल फुल्दै गर्दा पनि अर्यालको यो हिम्मत र जाँगर अझै पनि कुनै तन्नेरीको भन्दा कम छैन । अर्यालले अहिलेसम्म कुनै पनि स्थानीय तहबाट अनुदान नपाएको बताउनुभयो । ‘यसमा २० लाख मेरो लगानी भइसकेको छ, यसले २०/२५ वर्ष आम्दानी दिन्छ’, अर्यालले भन्नुभयो । अर्यालले बाँझिएको खेतबारीलाई आफ्नै एकल पौरख र मेहनतले सिञ्चित गर्दै आउनुभएको छ । पछिल्लो समयमा धेरै व्यक्ति गाउँँ छाडेर परिवारसँगै शहर पसे पनि अर्याल दम्पति भने खुसीका साथ गाउँँमा कृषि कर्ममा रमाइरहेको छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web