
काठमाडौ । आईसीसी विश्वकप लिग २ क्रिकेटको तयारीमा रहेको नेपाली क्रिकेट टोलीले आज स्कटल्याण्डको ए टिमसँग दोस्रो अभ्यास एकदिवसीय खेल खेल्दै छ ।
लिग २ अघि भइरहेको दुई अभ्यास खेलअन्तर्गत दोस्रो खेल बिहीबार दिउँसो पौने ४ बजेदेखि स्कटल्याण्डको फोर्फाशायर क्रिकेट क्लबमा हुनेछ ।
यसअघि बिहीबार भएको पहिलो अभ्यास खेलमा नेपाल १०२ रनले पराजित भएको थियो । आजको अभ्यास खेल जित्दै लिग २ का लागि उच्च मनोबल बनाउने नेपाली टोलीको लक्ष्य हुनेछ ।
स्कटल्याण्डको ए टिममा केही सिनियर टिमका खेलाडीहरू पनि समावेश छन् । सिनियर टिमबाट खेलिसकेका कप्तान क्रिस्टोफर म्याकब्राइड पहिलो अभ्यास खेलमा राम्रो प्रदर्शन गरेका थिए ।
स्कटल्याण्ड जानुअघि नेपालले युकेमा विभिन्न काउन्टी टिमहरूसँग अभ्यास खेल खेलेको थियो । नेपाल सबै अभ्यास खेलमा अपराजित रह्यो ।
लिग २ शृंखलामा नेपालले जुन २ मा स्कटल्याण्डसँग खेल्ने छ भने जुन ४ मा नेदरल्याण्ड्ससँग खेल्ने छ । त्यस्तै जुन ८ मा पुन: स्कटल्याण्डसँग तथा जुन १० मा नेदरल्याण्ड्ससँग खेल्ने छ । हाल नेपाल ८ टोलीमध्ये पुछारमा छ ।
नेपालको टोली : रोहित पौडेल (कप्तान), दिपेन्द्रसिंह ऐरी, आसिफ शेख, कुशल भुर्तेल, अनिल कुमार साह, भिम सार्की, आरिफ शेख, वसीर अहमद, गुलशन कुमार झा, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, ललित नारायण राजवंशी, नन्दन यादव र रिजन ढकाल छन् ।
स्कटल्याण्ड ए को टोली : क्रिस म्याकब्राइड (कप्तान), उजैर अहमद, लोयड ब्राउन, चार्ली कासेल, ओली डेविडसन, जेम्स डिकिन्सन, जेमी डन्क, ओवेन गोल्ड, जैनुल्लाह इहसान, म्याकेन्जी जोन्स, ग्याभिन मैन, लियम नेलर, एड्रियन नील, लुइस ओ’डोनेल
19.12¡ÆC