तारकेश्वरको वडा नं ४ बुधसिंहमा शनिबार राष्ट्रिय परिचय पत्र बनाउने शिविर आयोजना

बैशाख १२, २०८२ मा प्रकाशित | 427 views


नुवाकोट । तारकेश्वर गाउँपालिकाको आयोजनामा यही बैशाख १३ गते वडा नं ४ को कार्यालय बुधसिंहमा राष्ट्रिय परिचय पत्र शिविर सञ्चालन हुने भएको छ । गाँउपालिका अध्यक्ष शिव अधिकारी (अबिरल)ले जिल्ला प्रशासन कार्यालय नुवाकोटसंग समन्वय गरेर वडा नं ४ को कार्यालय बुधसिंहमा राष्ट्रिय परिचय पत्र बनाउने शिविर सञ्चालन गर्न लागिएको हो ।

गाँउपालिका अध्यक्ष अधिकारीको अनुसार यसअघि राष्ट्रिय परिचय पत्रको फाराम भर्न छुट्नुभएका तथा फाराम भरेर पनि नं प्राप्त नगरेका वडा नं ४ का बासिन्दालाई लक्षित गरेर सेवा दिन लागिएको हो । राष्ट्रिय परिचय पत्र बनाउनको लागी आफ्नो सक्कल नागरिकता र आफ्नो बुबा आमाको नाम उल्लेख नभएको अबस्थामा बुबाआमाको नागरिकताको फोटोकपी पनि साथमा ल्याउन भनिएको छ । बिबाहित व्यक्तिहरुले बिबाह दर्ताको सक्कल पत्र नै अनिवार्य पेश गर्नुपर्ने छ ।

गाउँपालिका अध्यक्ष शिव अधिकारी (अविरल)ले यसअघि पनि जिल्ला प्रशासन कार्यालयसंग समन्वय गरेर लामो समयसम्म चलाइएको शिविरमा विविध कारणले छु भएका वडा एंव पालिकाबासीलाई राष्ट्रिय परिचय पत्र बनाउन प्रशासन कार्यालय नुवाकोटमा नै जानुपर्ने बाध्यताको अन्त्य गर्दै वडामा नै शिविर सञ्चालनको प्रबन्ध मिलाउनुभएको हो ।

पछिल्लो समयमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न सरकारी तथा बैंकिङ सेवाको उपयोग गर्न, राहदानी बनाउनको लागी राष्ट्रिय परिचय पत्र अनिवार्य गरेसगैँ यसअघिको शिविरमा छुट भएका वडा र पालिकाबासीलाई सहजै गाँउमा नै सेवा दिने गरेर शिविर चलाइएको अध्यक्ष अधिकारीको भनाई छ ।

विशेष गरेर हिडडुल गर्न नसक्ने हुनुभएका ज्येष्ठ नागरिकहरु, अपाङ्गता भएका व्यक्तिहरुले राष्ट्रिय परिचय पत्र बनाउन प्रशासन कार्यालयमा नै जानुपर्दा हुने कष्ट र समस्यालाई मध्येनजर गर्दै पालिका अध्यक्ष अधिकारीले गाँउमा नै शिविर सञ्चालनको बन्दोबस्ती मिलाउनुभएको हो । प्रशासन कार्यालयसंगको सहकार्यमा सार्वजनिक बिदाको दिन बनाई प्रत्येक वडामा क्रमशः शिविर सञ्चालन गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।

अब सञ्चालन हुने शिविरमा पनि छुट हुन गएमा प्रशासन कार्यालयमा नै जानुपर्ने बाध्यता हुने भएकाले राष्ट्रिय परिचय पत्र बनाउन बाँकी रहेका सबैलाई सेवाको लागी लिन अनुरोध गरिएको छ । वडा नं ४ को कार्यालयमा शनिबार सञ्चालन हुने शिविर बिहान ७ बजेदेखि नै सुरु हुने बताइएको छ ।

राष्ट्रिय परिचय पत्र अनिवार्य गरिएको अवस्थामा विषेश गरी ज्येष्ठ नागरिक आमाबुबा तथा अपाङ्गता भएका दाजुभाइ, दिदीबहिनीले जिल्ला पुगेर परिचय पत्र बनाउन निकै कठिन र झन्झटिलो हुने भएकाले जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी सार्वजानिक बिदाका दिनमा मिलाएर ६ वटै वडामा मौका शिविर सञ्चालन गर्न लागिएको जानकारी दिँदै यो मौकामा कोही पनि नछुट्ने गरी सूचना प्रवाह गरी आवश्यक समन्वय गर्नुहुन वडाध्यक्ष तथा सम्बन्धित वडाका सरोकारवालाहरूलाई अध्यक्ष अधिकारीले आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web