
नुवाकोट । विदुर नगरपालिकाको नगरप्रमुख राजन श्रेष्ठले आन्दोलनरत शिक्षकहरुलाई आफ्ना पेशागत हित र अधिकारको न्यायोचित माग राख्ने र दबाब सिर्जना गर्ने अधिकारको उपयोग सगैँ लामो समयदेखि बन्द रहेको शैक्षिक सँस्था सञ्चालनमा ल्याउन आग्रह गर्नुभएको छ ।
नगरप्रमुख श्रेष्ठले आज विज्ञप्ती जारी गर्दै शिक्षकहरुको मागको सम्बोधनको लागी विदुर नगरपालिका सधै सकारात्मक रहेको स्मरण गराउदै जायज माग पूरा गर्नको लागी आवश्यक सहयोगको समेत प्रतिबद्धता जनाउदै बन्द रहेका शैक्षिक सँस्थाहरु भने सञ्चालनमा ल्याउन आग्रह गर्नुभयो ।
नगरप्रमुख श्रेष्ठले जारी गरेको बिज्ञप्तीमा शिक्षकहरुको आफ्ना पेशागत हित र अधिकारको न्यायोचित माग राख्ने र दबाब सिर्जना गर्ने अधिकारको उपयोगसगैँ शैक्षिकसत्र सुरु भएपछि विद्यालय जान पाउने र पढ्न पाउने विद्यार्थीको नैसर्गिक अधिकारको सम्मान गर्नुपर्ने शिक्षकको पेशागत जिम्मेवारी समेतलाई आत्मसाथ गर्दै भोलिको मिति अर्थात बैशाख ११ गतेदेखि नै विद्यालय सुचारु गरी बाँकी रहेका अर्थात अहिले प्रभावित भएका सबै शैक्षिक गतिविधिहरु सञ्चालन गर्नको लागी आन्दोलनरत शिक्षकहरुलाई आग्रह गरिएको छ ।

शिक्षकहरुको आन्दोलनको कारण विदुर नगरपालिकामा गत शैक्षिक सत्रमा नगरपालिका मार्फत सञ्चालन गरिएको कक्षा ५ र ८ को परीक्षाको ग्रेडबृद्धि परीक्षा सञ्चालन, चालु शैक्षिक सत्रको भर्ना अभियान, पाठ्यपुस्तक वितरण, नयाँ कार्य योजना निर्माण, शिक्षक तालिम लगायतका गतिविधिहरु रोकिएको नगरप्रमुख श्रेष्ठले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।
शिक्षकहरुको अधिकार र पेशागत हितको सम्बन्धमा माग राख्न पाउने विषयलाई समर्थन गर्दै नगरप्रमुखले सम्बोधनको लागी पनि आफू सकारात्मक रहेको स्मरण गराउदै विद्यार्थीको अधिकारको पनि ख्याल गर्नको लागी शिक्षकहरुलाई स्मरण गराउदै भोलिदेखि नै विद्यालय सुचारु गराउनको लागी अनुरोध गर्नुभएको हो ।
21.12¡ÆC