देशका धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षा

चैत्र २८, २०८१ मा प्रकाशित | 284 views


काठमाडौँ । देशका विभिन्न ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा भएको छ । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा अहिले पनि पानी परिरहेको छ ।

पश्चिमको तुलनामा मध्य र पूर्वी भेगमा पानी केही बढी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज र भोलि देशका सबैजसो प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना छ ।

यस्तै हिमाली भेगमा हिमपात हुने महाशाखाले जनाएको छ । सुदूरपश्चिमसहितका केही ठाउँमा हावाहुरीको समेत सम्भावना रहेकाले सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

यसैबीच काठमाण्डौ उपत्यकाको प्रदूषण केही घटे पनि अझै अस्वस्थकर अवस्थामै रहेको छ । हावाको गुणस्तर मापन सूचक एक्यूआई एक सय ५० भन्दा माथि गएमा सबैका लागि अस्वस्थ हुनेमा अहिले काठमाण्डौको एक्यूआई एक सय ९० भन्दा माथि छ ।

अहिलेको वर्षाले प्रदूषण केही घट्न सक्ने मौसमविदले बताएका छन् । गएको मनसुनपछि नेपालमा राम्ररी वर्षा हुन सकेको छैन ।

जल तथा मौसम विज्ञान विभागका अनुसार यही चैत ९ र १० गते देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भएकामा त्यसपछि पर्याप्त वर्षा हुन सकेको छैन ।

पश्चिमी वायुको प्रभाव ज्यादै कमजोर रहेकाले विगत लामो समयदेखि देशभर पर्याप्त वर्षा नभएको तथा तापक्रममा वृद्धि हुँदा वायुमण्डल सुक्खा रहेको विभागकी प्रवक्ता विभूती पोखरेलले बताउनुभयो ।

त्यसैले तुवाँलोको प्रभावले वायुमण्डलको पारदर्शितासमेत न्यून हुन गई हालको वायु प्रदूषणलाई थप जोखिमयुक्त अवस्थामा पुर्‍याउन भूमिका खेलेको उहाँले बताउनुभयो ।

अहिले ठूलो वर्षा नहुने र देशभरको मौसममा अपेक्षित सुधार हुने अवस्था नदेखिएकाले मौसमसम्बन्धी जानकारी अद्यावधिक गरिरहन तथा आवश्यक सतर्कता अपनाउन विभागले सबैमा अपिल गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web