अमेरिका पठाइदिने भन्दै डेढ करोड ठगी, तीनजना पक्राउ

फाल्गुन १४, २०८१ मा प्रकाशित | 278 views


काठमाडौँ । अमेरिका पठाइदिने आश्वासन दिएर झन्डै डेढ करोड रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१ घर भई ललितपुर महालक्ष्मी नगरपालिका–४ बस्ने २४ वर्षीय मनिषराज खड्का, मुसिकोट नगरपालिका–२ घर भई काठमाडौं टोखा नगरपालिका–३ बस्ने २७ वर्षीय मधु कुमार खड्का र ३४ वर्षीय वीरेन्द्र खड्का छन् ।

उनीहरूमाथि वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश हुँदै अमेरिका पठाइदिने आश्वासन दिएर रकम ठगी गरेको आरोप छ ।

नेपाल प्रहरीका अनुसार, अमेरिका पठाइदिने नाममा उनीहरू दुई पीडितबाट एक करोड ४४ लाख ५० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएका थिए ।

पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले मनिषराजलाई काठमाडौं महानगरपालिका–९ बाट पक्राउ गरेको हो । मधुकुमार र वीरेन्द्रलाई काठमाडौंस्थित टोखा नगरपालिका–८ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारकाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web