काठमाडौं,साउन ११ । बाढीपहिरोका कारण देशका विभिन्न ठाउँमा ज्यान गुमाउनेको संख्या ३९ पुगेको छ । ५० जना बेपत्ता भएका छन् । मंगलबार रातिसम्म प्राप्त जानकारी अनुसार देशभरिमा बाढी–पहिरोले ३९ जनाको मृत्यु भएको छ। गृह मन्त्रालयले २८ जनाको ज्यान गएको १० जना घाइते भएको र २४ जना बेपत्ता भएको पुष्टि गरेको छ । बाढीले अहिलेसम्म सवैभन्दा धेरै प्यूठानमा १७ जनाको ज्यान गएको छभने २० जना बेपत्ता भएका छन् । त्यस्तै पहिरोले पुर्दा गुल्मीमा सात जनाको ज्यान गएको छ । हस्तिचौर गाविस मल्दीमा एकै परिवारका तीन, ह्वाङ्दी– ३ का दुई जना र बिसुखर्कका दुई जनाको ज्यान गएको छ ।

तराई क्षेत्रमा बाढी र डुबानका कारण जनजीवन अस्तव्यस्त भएको छ । पाल्पामा पहिरोले घर पुर्दा एकै परिवारका तीनसहित चार जनाको ज्यान गएको छ । पहिरोले धेरै घर जोखिममा परेको प्रहरीले जनाएको छ । त्यस्तै मकवानपुरको भिमफेदीको सोलाभन्ज्याङमा पहिरोले पुरीएर टेकबहादुर रुम्बा, उहाँकी श्रीमती पार्बती र छोरा विकासको ज्यान गएको प्रहरीले जनाएको छ ।

गुल्मी : गुल्मीमा छुट्टा–छुट्टै स्थानमा पहिरोले दुईवटा घर पुरिँदा पाँच जनाको मृत्यु भएको छ। हस्तीचौर गाविसको माल्दीमा भीमबहादुर दर्जीको घर मंगलबार बिहान पहिरोले पुरिँदा उनकी श्रीमती ४९ वर्षीया तुलसी, बुहारी १९ वर्षीया अस्मिता दर्जी र दिदी ६५ वर्षीया कालिका दर्जीको मृत्यु भएको प्रहरी नायब निरीक्षक युवराज रेग्मीले जानकारी दिए। घरभन्दा भन्डै ५०० मिटरमाथिबाट खसेको पहिरोले दर्जीको घर पुरेको प्रहरी नायब निरीक्षक रेग्मीले बताए।

त्यस्तै, गुल्मीकै विशुखर्क–९ मा रहेको गोपाल राणाको घर पहिरोले पुरिँदा उनका एक छोरा र एक छोरीको मृत्यु भएको छ। पहिरोमा पुरिएर राणाका ८ वर्षीय छोरा सुजन राणा र ६ वर्षीया छोरी सीमाना राणाको मृत्यु भएको रेग्मीले बताए।

उनका अनुसार बिहान घरभन्दा ५० मिटर माथिबाट आएको पहिरोले राणाको घर पुरिएको थियो।

पाल्पा : अविरल वर्षासँगै आएको पहिरोले घर बगाउँदा पाल्पामा मंगलबार चार जनाको पुरिएर ज्यान गएको छ। गोठादीमा एकै घरका घरमुलीसहित तीन जना र झुम्समा एक जनाको ज्यान गएको हो।

गोठादी-५ दमारका ४५ वर्षीय तमबहादुर कनौजेको घर माथिबाट खसेको पहिरोले कनौजेसहित श्रीमती २३ वर्षीया खगिसरा कनौजे र १० वर्षीया छोरी योशदा कनौजे घरभित्रै च्यापिएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक हरिराज वाग्लेले बताए।

राति घर पुरिएपछि घटनास्थलबाट प्रहरी र स्थानीयको सहयोगमा उनीहरूको लाश बिहान निकालिएको हो।

दोभान–१ झुम्सामा घर माथिबाट बिहानपख खसेको पहिरोले पुरिएर १५ वर्षीया अस्मिता विकको ज्यान गएको छ। पहिरोले हरिलाल परियार, किसन विक, अमर बुढामगर, इन्द्रबहादुर क्षेत्री, धनवीर विक, टेकबहादुर विक र उजेली विकको घर बगाएको प्रहरीले जनाएको छ।

घरमा रहेको खाद्यान्य लत्ताकपडा सबै बगाएपछि उनीहरूले लगाएको कपडामात्रै बचेको हरिलाल परियारले बताए। अव्यस्थित रुपमा बस्तीमाथि चुनढुंगा खानी जाने बाटो खनिएकोले पहिरो झरेर बस्ती बगाएको स्थानीयले बताएका छन्। पहिरोले झुम्साका अन्य बस्ती पनि जोखिममा परेको छ।

पाल्पाको रुधाम क्षेत्रसहित कालीगण्डकी किनारका बस्ती नदीको बहाव बढेपछि उच्च सर्तकता अपनाउन प्रहरीले अनुरोध गरेको छ। सिद्धार्थ राजमार्गका ठाउ–ठाउँमा खसेको पहिरोले तानसेन–बुटवल सडकसहित ग्रामीण सडकहरू समेत बन्द भएका छन्।

मकवानपुर : मकवानपुरको भीमफेदी–५ सोलुभन्ज्याङमा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ।

भीमफेदी–५ सोलुभन्ज्याङकी मनमाया स्याङतान घर पहिरोले पुरिँदा उनका छोरी-ज्वाइँ र नातीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

मृत्यु हुनेमा मनमायाका ज्वाइँ २५ वर्षीय टेकवहादुर रुम्वा, २३ वर्षीय छोरी पार्वती रुम्वा र ५ वर्षीय नाती विकास रुम्बा रहेको प्रहरीले जनाएको छ।

छोरी ज्वाइँ र नातीलाई घरमा सुताएर आफू अर्को घरमा सुतेकाले मनमाया भने बाँच्न सफल भएकी छिन्।

मंगलबार बिहान करिब ४ बजेतिर माथिबाट खसेको पहिरोले घर पुरिएको हो।

इलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी निरीक्षक बासुदेव थापाको नेतृत्वमा गएको प्रहरी टोलीले पहिरो पन्छाएर मृतकको शव बाहिर निकालेको थियो।

झापा : शनिबारदेखि लगातार परेको वर्षाका कारण झापामा आजसम्म पाँच जनाको मृत्यु भएको छ भने एक घाइते र एक बेपत्ता भएका छन्।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा गरामनी–२ डाँडागाउँ निवासी ३४ वर्षीय लुखीराम सोरेन, तोपगाछी–८ क्याम्पा बजार निवासी विशाल भुजेलका दुई वर्षीय छोरा मनिष, धुलाबारी घर भई गौरादह बस्दै आएका अनुज न्यौपाने, गोलधाप–८ निवासी ६४ वर्षीय कालीबहादुर लिम्बू र गौरादह–५ निवासी ३५ वर्षीय टेकेन्द्र खड्का छन्।

त्यस्तै गौरीगन्ज–५ का ११ वर्षीय दीपेश गिरी घाइते भएका छन्। घर नजिकैको खोला हेर्न गएका उनी खोला बढेर आएपछि भाग्ने क्रममा कल्भर्टबाट लडेर घाइते भएको प्रहरीले जनाएको छ।

उता माईखोलामा आएको बाढीले बगाएर भारत घर भई हाल कुमरखोद–४ बस्दै आएका १८ वर्षीय कालु भनिने बाबुलाल मण्डीलाई बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक हरिप्रसाद शर्माले बताए।

लगातार आएको वर्षाका कारण जिल्लाका दुई हजार २८३ जनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। झापामा अझै पनि ६६९ घर डुबानमा रहेको बताइएको छ।

सुनसरी : केही दिन अघिदेखिको अविरल परेको झरीले सुनसरीका ११ गाविस, तीन नगरपालिका र एक उपमहानगरपालिकाको एक हजार ७ सय घर डुबानमा परेका छन्।

परेको वर्षाले जिल्लाको नरसिंह गाविसको वडा नम्बर ३, ४, ५, ६ र ७ मा अविरल परेको वर्षाले जलमग्न भई ७० घरभन्दा बढी बस्ती डुबानमा परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ।

यसैगरी, छिटाहाको विभिन्न वडामा २५ घर साहेबगञ्ज गाविसको ७, ८ र ९ मा ५४ घर र घुस्की–४ मा थप ९ घर डुबान परेकाले ती डुबानमा परेकालाई सुरक्षित स्थानमा तथा आफन्तकोमा बसोबासका लागि प्रहरीले सहयोग गरेको पनि जिल्ला प्रहरी कार्यालय सुनसरीले बताएको छ ।

सुनसरीका प्रहरी उपरीक्षक पोषराज पोख्रेलले सप्तकोसी नदीमा मंगलबार यस वर्षकै उच्च बहाव रेकर्ड गरिएको छ।

प्रतिसेकेन्ड दुई लाख ७७ हजार ४१० क्युसेक प्रतिसेकेन्ड बाढीको बहाव कोसी ब्यारेजमा मापन भएको छ। अहिले ब्यारेजका ५६ ढोकामध्ये ३७ वटा ढोका खोलिएका छन्।

उदयपुर : रामपुर-२ स्थित गुहे खोलाले बगाएर रामपुर-२ खोरियाटोलकी कालीमाया राईको मृत्यु भएको छ। घरबाट रामपुर बजार हिँडेकी राईलाई खोला तर्नेक्रममा सो खोलाले बगाएको थियो।

घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट टोली खटि गई स्थानीय गाउँलेको सहयोगमा उनको खोजी गर्दा राईको शव भेटिएको हो।

त्यसैगरी, तपेश्वरी-१ बस्ने मानबहादुर प्रधानका १३ वर्षका छोरा ऋतु प्रधानको सोमबार अपराह्न घरनजिकै पानीको खोल्सामा डुबेर मृत्यु भएको पूर्वक्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ।

सप्तरी : कोबर्साईन-४ स्थित स्थानीय खोलाले बगाउँदा मारेङ विराटनगर निवासी २३ वर्षीय सुदीपकुमार यादव बेपत्ता भएका छन्। सप्तरीस्थित फरवार्ड बैङ्कमा कार्यरत यादवलाई किस्ता रकम संकलन गर्न जानेक्रममा मंगलबार बिहान खोलाले बगाएको हो।

19.28¡ÆC