काँग्रेस एक भए तीनैतहमा बहुमत ल्याउन सकिन्छ : नेका प्रवक्ता डा.महत

पुस ७, २०८१ मा प्रकाशित | 387 views


त्रिशूली । नेपाली काँग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले पाटी एक भएमा विपक्षीभन्दा आफूहरु शक्तिशाली हुने बताउनुभएको छ ।
नुवाकोटको विदुरमा शनिबार आयोजित नेपाल प्रजातन्त्र सेनानी संघको अधिवेशन एंव प्रजातन्त्र सेनानी सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै ठूलो पाटी भएकाले काँग्रेस भित्रको आन्तरिक विवादले पाटीलाई कमजोर बनाएको गुनासो गर्नुभयो ।

“प्रजातन्त्र प्राप्तीदेखि देश विकासमा काँग्रेसले पु-याएका योगदान, पाटीले अपनाएको नीति र सिद्धान्त तथा पाटीमा आबद्ध सदस्य सङ्ख्याले बलियो बिरासत रहेको पाटी आन्तरिक रुपमा अलमलिएर कमजोर बनाइएको छ ।” प्रवक्ता महतले भन्नुभयो “लोकतन्त्र आत्मसाथ गर्ने काँग्रेसले पाटीको आन्तरिक निर्वाचनको प्रतिस्पर्धाको क्रममा गुट र उपगुट बन्ने र त्यहीँबाट बल्झिएर एक हुन नसक्ने अबस्था छ । काँग्रेसमा आबद्ध भएकाहरु एक भए तीनैतहमा बहुमत ल्याउन सकिन्छ ।”

सदस्य सङ्ख्या धेरै र लोकतान्त्रिक पाटी भएकाले काँग्रेसमा आबद्ध हुनेहरुले पाटी भित्रै विपक्षी देख्ने प्रवृत्ति सुधार्न उहाँले कार्यकर्तालाई निर्देशन दिनुभयो । पाटीले अपनाएको सिद्धान्त र पाटीका प्रतिनिधिले गरेका राम्रो कार्य तल्लोतहसम्म प्रचार गर्न र विपक्षीका कमजोरी औल्याउन उहाँले निर्देशन दिनुभयो ।

जारी रहेको काँग्रेसको पाटी सदस्यता वितरण र नविकरण एवम् संगठन निर्माणलाई पाटीको आसन्न महाधिवेशन भन्दा आगामी आमनिर्वाचन केन्द्रित गराई काँग्रेस एक्लै चुनाव लड्न र बहुमत ल्याउन सक्ने वातावरण तयार गर्न कार्यकर्ताको भूमिका महत्वपूर्ण हुने उहाँको भनाई छ ।

कार्यक्रममा नेपाली काँग्रेस नुवाकोटका सभापति रमेशकुमार महतले पाटीको संगठन निर्माणलाई प्राथमिकता दिदै अहिले सदस्यहरुको नविकरणको काम भइरहेको जानकारी दिनुभयो ।

सो अवसरमा प्रजातन्त्र स्थापनाको लागी विभिन्न समयमा भएका संघर्षमा योगदान पु-याएका व्यक्तिहरुलाई ‘प्रजातन्त्र सेनानी सम्मान’ प्रदान गरिएको छ ।

नुवाकोट काँग्रेसको अनुसार जिल्लाभर एक हजार भन्दाबढी प्रजातन्त्र सेनानी व्यक्तित्व भएपनि कार्यक्रममा पन्ध्र जनालाई सम्मान गरिएको र बाँकीलाई क्रमशः प्रदान गरिने जनाइएको छ ।

कार्यक्रमसंग सम्बन्धित थप तस्बिरहरु :

 

प्रतिक्रिया

सम्बन्धित खवर

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web