पुस २, २०८१ मा प्रकाशित | 199 views


-रामहरि न्यौपाने
धान्य पूर्णिमा पर्वको अवसरमा नुवाकोटको दुप्चेश्वर गाँउपालिका–६ मा अवस्थित प्रसिद्ध दुप्चेश्वर महादेव मन्दिरमा लागेको मेला सकिएको छ । ‘सानो पशुपतिनाथ’का रुपमा परिचित दुप्चेश्वर मन्दिरमा ‘जे माग्यो त्यो सिद्ध गरिदिने’ विश्वासमा यो वर्ष करीब पचास हजार भक्तजनले पूजाआरधना गरेको दुप्चेश्वर क्षेत्र विकास कोषका संरक्षक तथा गाउँपालिका अध्यक्ष शंकरबहादुर थापाले जानकारी दिनुभयो ।

उहाँको अनुसार यो वर्ष एकादशीका दिनदेखि शुरु भएको जात्रा अन्तरगत मुख्य दिन शनिबार र आइतबार दुई दिनमा बिस हजार भन्दाबढी दर्शनार्थी (भक्तजन)को सहभागिता रहेको थियो ।

तिथीको गढबढले यसवर्ष शनिबार र आइतबार दुईदिन पूर्णिमा परेकाले दर्शनार्थीको आवागमन दुई दिन निकै उत्साहजनक रहेको मन्दिरका पूजारी भगवानहरि धितालले बताउनुभयो ।

महादेव मन्दिरमा पूजा गरी जल चढाउनाले भक्तिभाव र मनोकांक्षा पूरा हुने धार्मिक विश्वासमा नुवाकोट सहित देशभरका हिन्दू र बौद्धमार्गी दुप्चेश्वर पुग्ने गरेका छन् ।

पौराणिक कथन अनुसार धेरै वर्ष पहिला स्थानीय बासु तामाङको गाई हराएपछि खोजी गर्दै जाँदा अनकन्टार पहरोमा पुगेर शिलामा दूध चढाइरहेको भेटिएकाले उक्त शिलालाई दुग्धेश्वर महादेव रहेको विश्वासमा पूजा आराधाना एवम् आस्था प्रकट गर्दै पुज्न थालिएको हो । गाईले दूध चढाएको हुदाँ दुग्धेश्वर हुदैँ अहिले यस ऐतिहासिक तथा प्रसिद्ध मन्दिरलाई दुप्चेश्वर भन्ने गरिन्छ ।

यस पवित्र स्थललाई समुन्द्र मन्थन गर्दा निक्लिएको विष सेवनपछि छट्पटिएका महादेव शिव काठमाडौँको पशुपतिनाथ हुँदै दुप्चेश्वरमा बास बसेर रसुवाको गोसाइँकुण्ड गएको किम्बदन्तीसंग पनि जोड्ने गरिन्छ ।

मन्दिरका पुजारी धितालको अनुसार ‘भक्तजनले जे माग्यो त्यो सिद्ध गराउने’ भगवानको रुपमा पुजिने दुप्चेश्वरले विशेषगरी सन्तानमा पनि पुत्रलाभ गराउने महादेवको रुपमा विश्वासका साथ भक्तजन मन्दिरको दर्शनका लागि आउने गरेका छन् ।

मन्दिरमा दर्शन गरेमा सन्तान प्राप्ति, बोली नफुटेका बालबालिकाको बोल्न सक्ने, गाईभैँसीँको दाम्लो चढाएमा पशुधनको फलिफाप, एकललाई दम्पत्ती प्राप्ती लगायतका आस्था र विश्वासमा मन्दिर दर्शन गर्न दैनिक सयौँको सङ्ख्यामा भक्तजनहरु पुग्ने गरेका छन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web