३७ हिमाल आरोहण गर्न ७० देशबाट आठ सय ७० आरोहीले लिए अनुमति

कार्तिक ३०, २०८१ मा प्रकाशित | 154 views


काठमाडौँ । शरद् ऋतु (अटम सिजन) मा हिमाल आरोहण गर्न नेपालसहित ७० देशका आठ सय ७० आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार यो सिजनमा विभिन्न ३७ हिमाल आरोहणका लागि एक सय ११ आरोही समूहका दुई सय दुई महिला र छ सय ६८ पुरुष गरी कूल आठ सय ७० जनाले अनुमति लिएका हुन् ।

हिमाल आरोहणबापत रु छ करोड ३५ लाख ७९ हजार ५३ रोयल्टी रकम सरकारी खातामा जम्मा भएको पर्यटन विभागका निर्देशक राकेश गुरुङले जानकारी दिनुभयो । शरद् ऋतुको आरोहण करिब अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो ।

निर्देशक गुरुङका अनुसार मनास्लु र हिम्लुङको आरोहण सकिएको छ भने अमादब्लमलगायत हिमालको आरोहण धमाधम भइरहेको छ । अहिले ससाना समूहमा आरोही आइरहेका भन्दै उहाँले अब दुई/चार जनाले मात्रै आरोहण अनुमति लिने अनुमान गरिएको बताउनुभयो ।

विगतमा जस्तै यो सिजनमा पनि मनास्लु (८,१६३ मिटर) हिमाल आरोहणमा सर्वाधिक २८ आरोही समूहका तीन सय आठ जनाले अनुमति लिएका विभागको पर्वतारोहण शाखाले जनाएको छ ।

अमादब्लम १४ आरोही समूहका एक सय ५८, हिम्लुल आरोहणका लागि १० आरोही समूहका एक सय २४ तथा धौलागिरिमा एक आरोही समूहका १४, मकालुमा एक आरोही समूहका दुई आरोहीले अनुमति लिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web