
काठमाडौँ । अब महिला स्वास्थ्य स्वयंसेविकाहरूले आफ्नो कामका लागि निःशुल्क सार्वजनिक यातायात चढ्न पाउने भएका छन् । स्वास्थ्य सेवा प्रयोजनका लागि सार्वजनिक यातायातका साधनमा महिला स्वास्थ्य स्वयम्सेविकाहरूसँग भाडा नलिने व्यवस्था गर्न यातायात व्यवसायीहरू सहमत भएका हुन् ।
शुक्रबार मन्त्रालयमा भएको स्वास्थ्यमन्त्री प्रदीप पौडेल र यातायात व्यवसायीहरूबीचको छलफलपछि व्यवसायीहरूले स्वास्थ्य सेवा प्रयोजनका लागि महिला स्वास्थ्य स्वयम्सेविकाहरूलाई आवातजावत गर्दा सार्वजनिक सवारी साधनले भाडा नलिने घोषणा गरे ।
यससम्बन्धी समझदारी पत्रमा शुक्रबारै व्यवसायी र मन्त्रालयबीच सहमति भएको छ । सहमति पत्रमा स्वास्थ्यमन्त्री पौडेल र यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले हस्ताक्षर गरेका छन् । सहमतिबमोजिम अब कार्तिक १५ गतेबाट यस्तो व्यवस्था लागू हुनेछ ।
‘महिला स्वास्थ्य स्वयंसेविकाहरूले देशको स्वास्थ्य क्षेत्रमा पुर्याएको भूमिकालाई सम्मान गर्न यो निर्णय महत्वपूर्ण छ,’ सहमतिमा हस्ताक्षरपछि मन्त्री पौडेलले भने, ‘आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्वअन्तर्गतको यो सहयोगका लागि यातायात व्यवसायी राष्ट्रिय महासंघप्रति आभार व्यक्त गर्दछु ।’ मन्त्री पौडेलले स्वास्थ्य स्वयंसेविकाहरूलाई थप सहयोग गर्नका लागि के गर्न सकिन्छ भनेर आफूहरू चिन्तित रहेको बताए ।
महासंघका अध्यक्ष स्वाँरले आफूहरूलाई मन्त्री पौडेलले विगतदेखि नै निःशुल्क सुविधाका लागि आग्रह गरेको भन्दै व्यवसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत सुविधा उपलब्ध गराउने घोषणा गरे ।
महिला स्वास्थ्य स्वयंसेविकाहरूको छाता संस्थाकी अध्यक्ष बसन्ती महर्जनले निकै महत्वपूर्ण निर्णय भएको भन्दै यसका लागि मन्त्री पौडेल र व्यवसायी महासंघप्रति आभार प्रकट गरिन् । ‘यो हाम्रा लागि ठूलो निर्णय हो,’ उनले भनिन्, ‘मन्त्रीज्यू र यातायात व्यवसायीलाई धन्यवाद ।’
यस सम्झौताबाट अब ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका लाभान्वित हुने भएका छन् । सहमतिअनुसार महिला स्वास्थ्य स्वयंसेविकाहरूले सेवा क्षेत्र रहेको जिल्लाभर स्वास्थ्य सेवा प्रयोजनका लागि सार्वजनिक यातायातमा नि:शुल्क आवतजावत गर्न पाउनेछन् ।
व्यवसायीले स्वास्थ्य स्वयंसेविकाको पोशाक वा परिचयपत्रका आधारमा यस्तो सेवा दिनेछन् ।
20.04¡ÆC