सबैजसो नदी खोलामा बाढी, नदी तटीय क्षेत्र डुबानमा

अशोज १२, २०८१ मा प्रकाशित | 205 views


काठमाडौँ । हिजोदेखिको लगातार वर्षाले देशका सबै नदी र खोलामा बाढी आएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले कोशी, बागमती, नारायणी, तिनाउ र यसका सहायक नदी गरी १० वटा नदीमा जलसतह खतरा तहभन्दा माथि रहेको छ भने २७ नदीमा जलसतहले खतरा तह पार गरेको छ ।

अरुण, दुधकोशी, सुनकोशी, बागमती, नारायणी, तिनाउ, बाणगङ्गा र तिनका सहायक नदीमा पानीले जलसतह पार गरेको छ । यी सबै नदीले लगभग चेतावनीस्तर पार गरिसकेका छन् । बागमती नदी र काठमाण्डौ उपत्यका भई बहने यसका सहायक नदीमा जलसतह खतरा तहभन्दा धेरै माथि रहेकोले र थप बढ्ने पूर्वानुमान रहेकोले काठमाण्डौ उपत्यका, मकवानपुर, सर्लाही र रौतहटको नदी तटीय क्षेत्रमा बाढीको जोखिम छ । नदी आसपासका कतिपय ठाउँमा बाढी पसेको छ ।

काठमाण्डौ उपत्यकाका बागमती, विष्णुमती, हनुमन्ते, कर्मनाशा, बल्खु, धोवीखोला लगायतका नदी र खोलामा आएको बाढीले आसपासका बस्ती डुबानमा परेको छ । नारायणी नदी देवघाटको जलसतह हाल खतरा तह माथि रहेको र अझै बढ्ने रहेकोले चितवन र नवलपरासीको नदी तटिय क्षेत्रमा बाढीको उच्च जोखिम छ ।

सुनसरीको बुढी खोला, दुहबी बाढीमापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्रमा बाढीको जोखिम र डुबान भइरहने होचा भूभागमा रहनेलाई सचेत रहन विभागले आग्रह गरेको छ ।

सिन्धुपालचोकको भोटेकोशी नदी, बाह्रविसे जलमापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले नदीको तटीय क्षेत्रहरूमा रहनुहुनेलाई बेलुकीसम्मै उच्च सतर्कता अपनाउन भनिएको छ ।

सप्तकोशी चतरा जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकोले उदयपुर, सुनसरी र सप्तरीका नदीकटान हुन सक्ने क्षेत्र र डुबान हुने होचा भू–भागमा पनि बेलुकीसम्मै सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

धनकुटाको तमोर नदी, त्रिवेणी बाढीमापन केन्द्रमा हालको जलसतहले खतरा तह पार गरेको र बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्रमा बाढीको जोखिम र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले उच्च सतर्कता अपनाउन भनिएको छ ।

रुपन्देहीको तिनाउ नदी जलमापन केन्द्रमा जलसतहले खतरा तह पार गरेको र बढ्दो क्रममा रहेकोले जोखिम बढेको छ । अरू नदी खोलामा पनि बाढी आएकाले उच्च सावधानी अपनाउन मौसम विभागले आग्रह गरेको छ ।

विभागले बाढीको जोखिम क्षेत्रमा रहेका बासिन्दालाई सुरक्षित ठाउँमा स्थानान्तरण हुन र सतर्क भएर बस्न आग्रह गरेको छ । त्यस्तै अनावश्यक यात्रा नगर्न, होचो भूभागमा भए सुरक्षित र उचाइमा रहेको ठाउँमा जान तथा बाढीका सूचनाहरुबारे अपडेट रहन विभागले आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web