बागमती प्रदेशसभा बैठक: तीन विधेयक सर्वसम्मतिले पारित

अशोज ७, २०८१ मा प्रकाशित | 226 views


मकवानपुर । बागमती प्रदेशसभाको आज बसेको दोस्रो बैठकले तीन विधेयकलाई सर्वसम्मतिबाट पारित गरेको छ ।

उक्त बैठकले प्रदेश स्वास्थ्य सेवा ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक, प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश हस्तकलाग्राम स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई सर्वसम्मतिबाट पारित गरेको हो ।

सो बैठकमा क्रमशः प्रदेश स्वास्थ्यमन्त्री किरण थापा मगरले प्रदेश स्वास्थ्य सेवा ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक, कृषि तथा पशुपंक्षी विकासमन्त्री प्रकाश श्रेष्ठले प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र उद्योग, वाणिज्य, भूमि तथा सामान्य प्रशासनमन्त्री सुकुमाया तामाङले प्रदेश हस्तकलाग्राम स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरियोस् भनि पेश गर्नुभएको थियो ।

प्रदेशसभाको आइतबार र आजको बैठकको छलफलमा उठेका प्रश्नको बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले जवाफ दिनुभएको थियो । उहाँले प्रदेश सरकारले प्रदेशसभाका सदस्यको भावना र चाहनालाई मध्यनजर गरी प्रदेशको सबै जिल्लामा समानुपातिक योजना र बजेट वितरण हुने, त्यसको अनुगमन गर्न सरकारले संयन्त्र तयार गर्न लागेको बताउनुभयो ।

उहाँले मौजुदा सरकारले अहिले न्यूनतम ६७ बुँदे साझा कार्यक्रम ल्याइएको र त्यसमा प्रदेशको सबै जिल्लाको भौगोलिक अवस्थाअनुसार राष्ट्रिय गौरवको आयोजना, विकासको पूर्वाधार निर्माण र जनतालाई आर्थिक समृद्धितर्फ उन्मुख गराउने रचनात्मक कार्यक्रम भएको उल्लेख गर्नुभयो । त्यसमा सबै प्रतिपक्ष दललाई सहयोग गर्न उहाँले आग्रह गर्नुभयो ।

हेटौँडा–नारायणगढ सडकखण्ड, त्रिभुवन राजपथ, भीमफेदी–कुलेखानी–काठमाडौँ तथा काठमाडौँबाट सिन्धुली, नुवाकोट, काभ्रे र रसुवा जोड्ने सडकलाई तत्काल मर्मत सम्भार र ढल निर्माण गरी दशैँमा सबै यात्रुलाई यात्रा सहज बनाउन सम्बन्धित निकायलाई परिचालन गरिसकिएको जानकारी दिनुभयो ।

प्रदेशमा सुशासन, भ्रष्टाचार नियन्त्रणका लागि प्रदेश सरकारले छिट्टै कार्यदल गठन गरी कार्यविधि तयार गरी लागू गर्ने र आ–आफ्नो दलगत स्वार्थ नहेरी दोषी पाइएमा कारबाही गर्ने दृढता व्यक्त गर्नुभयो । मुख्यमन्त्री लामाले सर्वसाधारणलाई प्रदेशको विभिन्न अस्पतालमा गुणात्मक उपचार सेवा पु(याउन आवश्यक चिकित्सक स्वास्थ्यकर्मी दरबन्दी र उपकरण उपलब्ध गराउने सरकारको नीति रहेको उल्लेख गर्नुभयो ।

बागमती प्रदेशसभाको सभामुख भुवनकुमार पाठकले प्रदेशसभाको अर्को बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web