
नुवाकोट । सडक माथीबाट खसेको ठूलोढुङ्गा सहितको पहिरोको कारण गल्छी–रसुवागढी सडक खण्डको ‘देवीघाट–गल्छी’ सडकमा यातायात सञ्चालन बन्द भएको छ ।
नुवाकोटको बेलकोटगढी नगरपालिका–८ स्थित ठूलोखोला नजिकै सडकको माथीबाट खसेको ठूलोढुङ्गा सहितको पहिरोले ‘डेडिकेटेड डबल लेन’को सडक पूर्ण रुपमा बन्द भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख जे.जंग कार्कीले जानकारी दिनुभयो ।

उहाँको अनुसार देवीघाटबाट महादेवफाँट हुदै गल्छी आउजाउ गर्ने सडक पूर्ण रुपमा अबरुद्ध भएको छ । सोही रुटको आसपासमा बैकल्पिक सडक समेत नभएको हुदाँ यातायातका साधन आउजाउ गर्न समस्या भएको छ ।
धादिङको गल्छीबाट नुवाकोटको त्रिशूली तथा रसुवागढीहुदैँ केरुङ जानुपर्ने सवारीसाधनहरु गल्छीबाट काठमाडौ नै पुगेर टोखा–छहरे सडक खण्ड प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ ।

बुधबार राती करीब ९ बजेतिर खसेको पहिरोसगैँको ठूलोढुङ्गा हटाउन ब्रेकर लगाउनुपर्ने भएकाले सडक सञ्चालन गर्न समय लाग्ने देखिएको गल्छी–रसुवागढी सडक योजना कार्यालयका प्रमुख धुव्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँको अनुसार पहिरो हटाई सडक सुचारु गराउन रातको समयमा जोखिम भएकाले बिहीबार बिहानदेखि हेभी उपकरण सहितको जनशक्ति परिचालन गरिएको छ ।


19.35¡ÆC