इजरायलको आक्रमणबाट गाजामा ४० हजारभन्दा बढीको मृत्यु

साउन ३२, २०८१ मा प्रकाशित | 545 views


काठमाडौँ । इजरायलले विगत १० महिनायता गाजा क्षेत्रमा गरेको आक्रमणबाट ४० हजारभन्दा धेरै व्यक्तिको मृत्यु भएको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले जनाएको छ । ९२ हजार जना घाइते भएका छन् ।

गत ७ अक्टुबरमा हमासले इजरायलमा आक्रमण गर्दा १ हजार २ सय जनाको मृत्यु भएपछि इजरायलले जवाफी कारबाही सुरु गरेको थियो । इजरायलको आक्रमण अहिले पनि जारी छ ।

हमासको स्वास्थ्य मन्त्रालयले विहीबार सार्वजनिक गरेको तथ्यांक अनुसार इजरायलले हमास नियन्त्रित गाजा क्षेत्रमा गरेको आक्रमणबाट ४० हजार ५ जनाको मृत्यु भएको छ । गाजाको कूल जनसंख्या २३ लाख छ ।

गाजा क्षेत्रमा ६० प्रतिशत भौतिक संरचना ध्वस्त भएका छन् । स्याटलाइट तस्वीर हेर्दा सबैभन्दा धेरै भौतिक क्षति दक्षिणी शहर रफाहमा भएको छ ।

संयुक्त राष्ट्रसंघको मानवअधिकार उच्चायुक्त कार्यालयका प्रमुख वोल्कर टर्कका अनुसार गाजा क्षेत्रमा मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका छन् । गाजामा हृदयविदारक अवस्था रहेको भन्दै उनले भनेका छन्, ‘यस्तो हृदयविदारक अवस्था इजरायली सेनाले युद्धको नियम पालना नगर्दा उत्पन्न भएको हो ।’

उनका अनुसार गाजामा औसतमा दैनिक १३० जना मानिसको मृत्यु हुने गरेको छ । इजरायली सेनाले घर, अस्पताल, स्कुल र धार्मिक प्रार्थना स्थलमा समेत आक्रमण गरेको भन्दै उनले यसलाई निकै गम्भीर अवस्था भनेका छन् ।

संयुक्त राष्ट्रसंघको मानवअधिकार उच्चायुक्त कार्यालयले युद्ध बन्द गर्न र बन्धकहरुलाई रिहा गर्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web