लम्पी स्किन रोग विरुद्ध सप्ताहव्यापी खोप कार्यक्रम सुरु

साउन २६, २०८१ मा प्रकाशित | 488 views


नुवाकोट । गाईभैँसीमा लाग्ने विषाणुजन्य लम्पी स्किन डिजिज् विरुद्ध जिल्ला पशु सेवा कार्यालय नुवाकोटको आयोजनामा नुवाकोट सहित रसुवामा सप्ताहव्यापी खोप अभियान सुरु भएको छ ।
अभियानको शुक्रबार विदुर नगरपालिका–६ स्थित मल्ल बहुउद्देष्य कृषि फर्ममा पालन गरेको भैँसीमा खोप लगाएर कार्यालय प्रमुख बरिष्ठ पशु विकास अधिकृत डा.रामप्रकाश प्रधानले सुरु गर्नुभयो ।

जन्मेको तीन महिनाभन्दा माथीका बिरामी बाहेक सबै गाई–भैँसीलाई खोप लगाउन खोपकर्ता परिचालन गरिएको छ । बरिष्ठ पशु विकास अधिकृत डा.रामप्रकाश प्रधानको अनुसार दुई जिल्लाका किसानले पालेका सम्पूर्ण गाईभैँसीलाई खोप लगाउन दश हजार डोज खोप सहित ३१ जना खोपकर्ता परिचालन गरिएको छ ।

“सप्ताहव्यापी कार्यक्रम अन्तरगत किसानको गोठ तथा फर्मसम्म पुगेर खोप लगाउन तालिम प्राप्त खोपकर्ता परिचालन गरिएको छ ।” बरिष्ठ पशु विकास अधिकृत प्रधानले भन्नुभयो “सप्ताह अन्तरगत दुई जिल्लामा किसानले पालेका करीब पच्चिस हजार गाईभैँसीलाई समेट्ने लक्ष्य छ ।”

नेपालमा विसं २०७७ साल असार १० मा पहिलो पटक देखा परेको लम्पी स्किन डिजिज् रोग गतवर्ष माहामारीको रुपमा फैलिएको थियो । उक्त रोग लागेर धेरै गाई–भैँसी प्रभावित भएर किसानको ठूलो पशुधनको नोक्सान भएसगैँ बागमती प्रदेस सरकारले यो वर्ष मातहतका सबै जिल्लामा अभियानको रुपमा सप्ताहब्यापी खोप कार्यक्रम सञ्चालनमा ल्याएको हो ।

दुई जिल्ला कार्य क्षेत्र रहेको पशु सेवा कार्यालय नुवाकोटले खोप कार्यक्रम सफल बनाउन किसान सहित सरोकारवालाहरुलाई आह्वान गरेको छ । सरकारबाट निःशुल्क उपलब्ध रहेको खोप कार्यक्रममा आफ्ना गाईभैँसीलाई खोप सहभागी गराउन बरिष्ठ पशु विकास अधिकृत प्रधानले आग्रह गर्नुभयो ।

शुक्रबारदेखि सुरु भएर साउन ३१ गतेसम्म चल्ने खोप कार्यक्रम प्रभावकारी बनाउन पशु सेवा कार्यालयका प्रमुखको नेतृत्वमा पालिकाको प्रतिनिधि सम्मिलित अनुगमन समिति गठन गरिएको छ भने प्रत्येक पलिकामा फोकल पर्सन तोकिएको छ ।

विषाणुजन्य लम्पि स्किन डिजिज् लामखुट्टे तथा किर्नाको टोकाइबाट एक पशुबाट अर्को पशुमा सर्ने सुरुवा रोग र छोटो समयमा धेरै पशुलाई प्रभावित बनाउने भएकाले रोग लाग्नबाट बचाउन अनिवार्य रुपमा खोप लगाउन कार्यालयले किसानलाई आह्वान गरेको छ ।

रोग लागेको एकसातादेखि तीनसातामा लक्षण देखिने र त्यसपश्चात सिकिस्त हुने भएकाले रोग लाग्न नदिन पशुपन्छिको सरसफाईको साथसाथै खोप कार्यक्रम प्रभावकारी हुने कार्यालयका पशु विकास अधिकृत भरत पाण्डेले बताउनुभयो ।

गाईभैँसीमा लम्पि स्किन रोग लागेमा १०४ देखि १०७ फरेनहाइटसम्म ज्वरो आउने, शरिरका बिभिन्न भागमा एकदेखि पाच सेन्टिमिटरसम्म गिर्खा–गाठागुठी देखापर्ने, ती गिर्खा फुटेर पानी तथा पिप बग्ने, दुब्लाउने, दूध सुक्ने, रोगको सक्रमण बढ्दै गएर नियन्त्रण गर्न नसके मृत्यु समेत हुने भएकाले रोग लाग्नुअघि नै सावधानी अपनाउन पशु विकास अधिकृत पाण्डेको सुझाब छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web