सरोकारवालाको सुझाब अनुसार नै काम गर्छु : खेलकुद मन्त्री महर्जन

साउन २१, २०८१ मा प्रकाशित | 276 views


त्रिशूली । बागमती प्रदेशका नवनियुक्त युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले खेलाडीको सुझावका आधारमा आफूले काम गर्ने बताउनुभएको छ ।

मन्त्री मीनकृष्ण महर्जनले आइतबार विभिन्न खेलका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीसँग आयोजित अन्तरक्रियामा खेल र खेलाडीको विकासको लागी खेल क्षेत्रका सरोकारवालासंगको सहकार्यमा नै आफू अघि बढ्ने बताउनुभएको हो । कार्यक्रममा खेलक्षेत्र बुझेको व्यक्ति प्रदेशको खेलकुद मन्त्री नियुक्त भएकोमा बागमती प्रदेशको खेल गतिविधिमा सकारात्मक प्रभाव पर्ने आशा खेलाडीले राखेका थिए ।

कार्यक्रममा नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी जीतबहादुर केसी, दक्षिण एसियाली खेलकुद (साग)मा तीन स्वर्ण पदक जित्दै म्याराथनमा कीर्तिमान बनाउनुभएका वैकुण्ठ मानन्धर, नेपाल ओलम्पियन संघका अध्यक्ष दीपक विष्ट, सागका स्वर्ण पदक विजेता धिरेन्द्र प्रधान, उपेन्द्रमान सिंह, बालगोपाल महर्जन, बक्सिङका प्रकाश थापामगर लगायतका खेलाडीहरुको उपस्थिति थियो ।

कार्यक्रममा मन्त्री महर्जनले खेलाडीहरूको सुझावका आधारमा आफूले काम गर्ने र छिट्टै कार्यदल गठन गर्ने प्रतिबद्धता समेत जनाउनुभएको छ ।

उहाँले कार्यदलको सुझावका आधारमा प्रशिक्षक नियुक्त गर्ने पनि बताउनुभएको छ । प्रदेशको युवा तथा खेलकुद मन्त्रालयमा सबैभन्दा कम बजेट ७० करोड रुपैँयाँ मात्र रहेको जानकारी दिँदै थप बजेटका लागि आफूले पहल गर्ने उहाँले प्रतिबद्धता जनाउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web