विपद् व्यवस्थापन र पूर्वतयारीमा गम्भीर भएर काम गरौँ : प्रधानमन्त्री

असार २१, २०८१ मा प्रकाशित | 209 views


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक परिस्थितिमा उतारचढावजस्तो देखिए पनि सरकारले विपद् व्यवस्थापनलाई उच्च प्राथमिकता दिएर काम गर्नुपर्ने बताउनुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको मनसुनजन्य जोखिमको न्यूनीकरण तथा जोखिम प्रतिकार्यसम्बन्धी उच्चस्तरीय बैठकमा उहाँले नेपाल प्राकृतिक विपत्तिको उच्च जोखिमयुक्त देश भएकाले तीन वटै सुरक्षा अङ्गको समन्वयात्मक प्रयासमा विपद् व्यवस्थापन पूर्वतयारीका काम व्यवस्थित गर्न निर्देशन दिनुभयो ।

प्रधानमन्त्रीले भन्नुभयो, ‘राजनीतिमा उतारचढाव भइरहन्छ तर सरकार र राज्यका निकायले आफ्नो जिम्मेवारी भुल्नु हुँदैन । नेपाल विपद्का दृष्टिले उच्च जोखिमयुक्त देश हो । यो वर्ष मौसम प्रतिकूल हुने पूर्वानुमान छ । त्यसैले व्यवस्थित पूर्वतयारी गरौँ । विपद् व्यवस्थापनमा हामीसँग स्रोत पनि छ तर कार्यविधिको झन्झटले स्रोत परिचालन गर्न नसकेको कुरा बोध गर्दै यसलाई सहज परिचालन गर्न सकिनेगरी परिमार्जन गरौँ । राज्यका सबै निकायको सम्पूर्ण ध्यान पूर्वतयारी र जोखिम न्यूनीकरणमा केन्द्रित गरौँ ।’

छलफलमा गृह मन्त्रालय र नेपाली सेनाकाे तर्फबाट गरिएको पूर्वतयारीका लागि उहाँले आभार प्रकट गर्नुभयो । छलफलमा नेपाली सेना र गृह मन्त्रालयका तर्फबाट विपद् व्यवस्थापनको पूर्वतयारी र जोखिम पूर्वकार्यसम्बन्धी आफ्नो तर्फबाट गरिएको तयारीबारे प्रधानमन्त्रीलाई जानकारी दिइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web