बागमती प्रदेशसभा बैठक : विनियोजित बजेटमाथि मन्त्रालयगत छलफल
असार १३, २०८१ मा प्रकाशित | 302 views
मकवानपुर । बागमती प्रदेशसभाको आज बसेको पहिलो र दोस्रो बैठकमा पनि विनियोजित बजेटमाथि मन्त्रालयगत छलफल जारी रह्यो । उक्त बैठकमा सत्तापक्षका प्रदेशसभाका सदस्यहरुले छलफलमा भाग लिँदै सरकारद्वारा आगामी आव २०८१/८२ का लागि ल्याइएको बजेट जनमुखी र आर्थिक समृद्धितर्फ जोड्ने लक्ष्यको साथ ल्याइएकामा प्रशंसा गर्नुभयो ।
जनताहरुप्रति प्रदेश सरकार जवाफदेही, उत्तरदायित्व बोध हुन नसकेकोतर्फ सरकारको गम्भीर ध्यानाकर्षण गर्दै बजेटको माध्यमबाट प्रदेशको सबै जिल्लामा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर खेलकुद रङ्गशाला, कभर्ड हल, एवं खेलाडीलाई प्रोत्साहनस्वरुप मासिकरुपमा आर्थिक अनुदान उपलब्ध गराउन सरकारले गृहकार्य गर्न सुझाव दिनुभयो ।
सरकारले बागमती प्रदेशमा नेवारी र तामाङ भाषालाई सरकारी कामकाजको भाषामा कार्यान्वयन गर्ने नीति ल्याए पनि अहिले प्रदेशसभामा भइरहेको बैठकमा प्रदेशसभाका सदस्यले राख्नुभएको धारणालाई अनुवाद गरी प्रचारप्रचार गर्ने क्रममा सरकार उदासिन रहेकामा यथाशीघ्र भाषागत अनुवाद गर्ने व्यक्ति छनोट गरी नियुक्त गर्न सरकारलाई आग्रह गर्नुभयो ।
सरकार पक्षका सदस्यले आ–आफ्नो निर्वाचन क्षेत्रमा जनताले माग गरेको योजनालाई प्रत्येक मन्त्रीले छनोट गर्दा आवश्यकताअनुरुप योजनालाई छनोट नगरी आवश्यक नभएको भूगोलमा टुक्रे योजनालाई रु पाँचदेखि १० लाख रुपैयाँसम्मको योजना छनोट गर्नु गैरजिम्मेवारी भएकाले त्यस्ता योजना सुधार गर्नुपर्ने माग गर्नुभयो । उहाँहरुले प्रदेशको पहिचानका लागि खेलाडीको उच्च सम्मानका साथ आत्मबल बढाउन प्रत्येक खेलाडीलाई मासिकरुपमा आर्थिक रकम उपलब्ध गराउन माग राख्नुभयो ।
सरकार परिवर्तनसँगै प्रदेशसभामा कहिले सत्तापक्ष र कहिले प्रतिपक्षमा हुने तर, आफू सरकारमा गएको मौका पर्नेबित्तिकै मन्त्रीहरुले जानाजान आफ्नो निर्वाचन क्षेत्रमा अत्यधिक कार्यक्रम छनोट गर्ने परम्पराले प्रदेशका सबै जनतामा निराशा छाएकाले अब सबैपक्षले आफूलाई सुधार गर्नुपर्ने समय आएको उल्लेख गर्नुभयो । सरकारले विभिन्न मन्त्रालय अन्तर्गतका बजेट सिलिङलाई आत्मसमीक्षा गरेर प्रदेशको सबै जिल्लामा प्रदेशसभाका सदस्यको भावनालाई कदर गरेर योजना र बजेट संशोधन गरी कार्यान्वयमा ल्याउन सुझाव दिनुभयो ।
विनियोजित विधेयकमाथि आज प्रदेशसभाका सत्तापक्ष र प्रतिपक्ष गरी ४१ जना सदस्यले छलफलमा सहभागी जनाउनुभएको थियो । प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले प्रदेशसभाको अर्को बैठक भोलि असार १३ गते बिहीबार बिहान ११ बजे बस्नेगरी आजको बैठक स्थगित गर्नुभयो ।