नेपाल टेलिकमको फाइबर टु द होम सेवा देशका ७६ जिल्लामा

जेष्ठ ६, २०८१ मा प्रकाशित | 213 views


काठमाडौँ । कर्णाली प्रदेशको मुगु जिल्लामा नेपाल टेलिकमको फाइबर टु द होम (Ftth) सेवा शुभारम्भ भएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आज मन्त्रालयमा भर्चुअल माध्यमबाट सेवा शुभारम्भ गर्दै मुगुसहित देशका ७६ जिल्लामा फाइबर टु द होम (Ftth) सेवा पुगेको जानकारी दिनुभयो ।

मन्त्री शर्माले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले पनि आगामी दशकलाई सूचना प्रविधि दशकका रुपमा घोषणा गरेको भन्दै प्रविधिको क्षेत्रमा राम्रो काम गर्न सके यसले मुलुकको आर्थिक समृद्धिको ढोका खोल्न सक्ने विश्वास व्यक्त गर्नुभयो ।

यसका लागि दूर सञ्चार सेवा सबैभन्दा महत्वपूर्ण रहेको उल्लेख गर्दै मन्त्री शर्माले नेपाल टेलिकमले व्यापार व्यवसाय मात्रै नभएर सरकारप्रतिको उत्तरदायित्व वहन गर्दै सेवा विस्तार गरिरहेको बताउनुभयो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवं नेपाल टेलिकमका अध्यक्ष रामकृष्ण सुवेदीले मुलुकले लिएको आर्थिक समृद्धिको लक्ष्य पुरा गर्न अबका दिनमा प्रविधिसँगै अगाडी बढ्नुपर्ने बताउनुभयो ।

मुलुकले लिएको डिजिटल नेपाल फ्रेमवर्कको लक्ष्य पुरा गर्न नेपाल टेलिकमको सेवा प्रवाहलाई गुणस्तरीय बनाउनुपर्ने भन्दै तीनै तहका सरकारको समन्वय आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडीले अहिले फाइबर टु द होम (Ftth) सेवा पुर्‍याइएको मुगु जिल्लामा आगामी ६ महिनाभित्र अप्टिकल फाइबर पुर्‍याएर सेवालाई थप प्रभावकारी बनाइने बताउनुभयो ।

नेपाल टेलिकमले आम नागरिकमा सहज सेवा पुर्‍याउन प्रतिबद्ध रहेको भन्दै प्रबन्ध निर्देशक पहाडीले आगामी आर्थिक वर्षभित्र बाँकी रहेको हुम्ला जिल्लामा पनि फाइबर टु द होम (Ftth) सेवा विस्तार गरिने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web