
बाघखोर । नुवाकोटको बेलकोटगढी नगरपालिका अन्तर्गत रोजगार सेवा केन्द्र मार्फत संचालनमा रहेको प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत चालु आर्थिक वर्ष २०८०/८१ मा संचालित कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना र युवा रुपान्तरणका लागि पहल आयोजना अन्तर्गत रोजगार सेवा केन्द्रले चालु आर्थिक वर्षमा १८ निर्माण-मर्मत सम्बन्धि आयोजनाहरु संचालन गरि स्थानीय तहमा रोजगारी सृजना गरिरहेको छ ।

अहिलेसम्म नगरपालिकामा हालसम्म ६४ जना सूचिकृत बेरोजगार व्यक्तिहरुलाई न्युनतम रोजगारीमा संलग्न गराउने कार्य भइरहेको रोजगार शाखा प्रमुख (रोजगार संयोजक) हरिप्रसाद गजुरेलले जानकारी दिनुभयो । उहाँको अनुसार रोजगार सेवा केन्द्रले सडक, पदमार्ग निर्माण, खानेपानीको पाइपलाइन विस्तार र व्यावस्थापन, सिढी तथा गोरेटो बाटोको निमार्ण, चौताराको संरक्षण एंव सौन्दर्यकरण, सिचाईँ लगायतका क्षेत्रमा काम भइरहेको छ । ती योजनाहरु केही सम्पन्न भइसकेका छन भने केही अन्तिम चरणमा पुराइएको छ ।

बेलकोटगढी नगरपालिका भित्र बढ्दै गएको बेरोजगारीको समस्यालाई सम्बोधन गर्न सरकारले विभिन्न प्रयासहरु गर्दै आइरहेको रोजगार संयोजक हरिप्रसाद गजुरेलको भनाई छ ।

बेलकोटगढी नगरपालिका भित्र रोजगारको सिर्जनाका लागी स्थानीय सरकार, सहकारी, सामुदायिक तथा नीजि क्षेत्र बिच समन्वय र सहकार्य गरी मर्यादित रोजगारी सिर्जना गर्न तत्काल र दिर्घकालिन रुपमा रुपान्तरणकारी रणनीति कार्यान्वयन गर्नुपर्ने अनिवार्यता देखिएकाले सोही अनुसार नीति तथा कार्यक्रममा जोड दिइने नगरप्रमुख जगतबहादुर गुरुङले जानकारी दिनुभयो ।

उहाँको अनुसार पालिका भित्रको आर्थिक चुनौतीको रुपमा बेरोजगारी समस्या देखिएकाले युवा स्वरोजगार कार्यक्रमको लागी पालिकाले विशेष ध्यान दिने गरेर आगामी वर्षमा योजना तथा कार्यक्रम ल्याइने तयार गरिएको छ ।

स्वदेशमा रोजगारीका अवसरहरुको अभावबाट श्रम निर्यात गरेर बस्तु आयात गर्ने विडम्बना सर्वविदितै रहेको स्मरण गर्दै उत्पादनमूलक रोजगारी सिर्जना गरी पालिकामा उपलब्ध युवा श्रमशक्तिको उपयोग मार्फत कृषि क्षेत्रमा विद्यमान अनुत्पादक अधिक श्रमशक्तिको उपयोगमा जोडठ पुग्ने बजेटमा प्राथमिकता दिने उपप्रमुख शिवप्रसाद दाहालको भनाई छ । नीति तथा कार्यक्रम र बजेटमा नै सम्बोधन गरेर उद्योग, व्यापार, पर्यटन, शिक्षा, स्वास्थ्य जस्ता सेवा क्षेत्रमा स्थानान्तरण गर्न सकेमा राजस्वको संरचनात्मक परिवर्तनमा योगदान पुग्नसक्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

विगतमा वैदेशिक रोजगारीले गरिबी निवारणमा उल्लेखनीय भूमिका निर्वाह गरेको स्मरण गर्दै सरकारीस्तरबाटै यसको प्रवद्र्धन गर्न सकिने भएकाले नगरपालिकाले रोजगार कार्यक्रमलाई माथिल्लो सरकारहरुसंगको सहकार्यमा आफ्नै पालिकाको गौरवको कार्यक्रमको रुपमा अघि बढाउदै लगिने प्रमुख प्रशासकीय अधिकृत पिताम्बर पाण्डेले जानकारी दिनुभयो ।

रोजगार कार्यक्रम मार्फत आएका र ल्याउन सकिने सामाजिक, आर्थिक र मानवीय जोखिम विश्लेषण गरी आन्तरिक रोजगारी सिर्जना गरी वैदेशिक रोजगारीलाई निरूत्साहित गरि स्थानीयतह मार्फत सार्वजानिक विकास निर्माणका क्षेत्रमा पालिकाभित्र रहेका श्रम शक्तिलाई प्रयोग गरि सीप, क्षमता र दक्षता विकास गरि दिर्घकालिन रोजगारीको अवसर दिन कार्यक्रम निकै प्रभावकारी रहेको प्रमुख प्रशासकीय अधिकृत पाण्डेको भनाई छ ।

बेलकोटगढी नगरपालिकामा आन्तरिक रोजगारी सृजना गर्नको लागि नगर रोजगार नीति तर्जुमा गर्ने कार्य गरि नगर भित्र सम्भावित रोजगारीको क्षेत्र पहिचान,लगानी श्रोत लगायत विभिन्न विषयहरुको रणनीति बनाउने उद्देश्य समेत रहेको उहाँले जानकारी दिनुभयो ।

‘श्रमको सम्मान–रास्ट्रको अभियान’ कार्यक्रम मार्फत श्रम तथा रोजगारीको छेत्रमा नगरबाट गर्न सक्ने सुझाव समेत संकलन गर्ने कार्य गर्दै आइरहेको छ ।

रोजगार सेवा केन्द्रले आगामी आर्थिक वर्षको लागि बेरोजगार दर्ता संकलन, बैदेशिक रोजगारमा जान लागेका व्यक्तिहरुलाई सहि सूचना प्रवाह ,व्यक्तिगत तथा पुनः श्रम स्वीकृतिको कार्यमा सहजिकरण,रोजगार वैदेशिक रोजगारबाट फर्केका व्यक्तिका लागि पुन एकीकरण लगायतको सेवा प्रवाहको कार्य समेत गरिरहेको रोजगार संयोजक हरिप्रसाद गजुरेलले जानकारी दिनुभयो ।






22.99¡ÆC