नागढुङ्गा सुरुङमार्ग छिचोलियो

बैशाख ३, २०८१ मा प्रकाशित | 335 views


काठमाडौँ । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको मुख्य सुरुङ ‘ब्रेक थ्रु’ अर्थात् छिचोलिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा विशेष समारोहकाबीच आज सुरुङ छिचोल्ने काम भएको नागढुङ्गा सुरुङ निर्माण परियोजनाका उपनिर्देशक गोविन्द दुमरुले जानकारी दिनुभयो । सुरुङ छिचोल्नका लागि दुई मिटर मात्र बाँकी रहेकोमा आज प्रधानमन्त्रीको उपस्थितिमा विस्फाेट गराएर छिचोल्ने काम भएको उहाँले बताउनुभयो ।

सुरुङ छिचोल्ने क्रममा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय राजमार्गहरूमा सुरुङमार्ग, फ्लाईओभर तथा अन्डरपास निर्माणमा जोड दिने बताउनुभयो । उहाँले काठमाण्डाैबाट नारायणगढ, भैरहवा, वीरगञ्ज, पोखरा विराटनगरलगायतका ठाउँसम्म कम समय र थोरै लागतमा ढुवानी हुनसक्ने द्रूतमार्गहरू बनाउनुपर्ने पनि बताउनुभयाे ।

नागढुङ्गा–सिस्नेखोला सुरुङले उपत्यकाबाट बाहिरिने सडकको अवस्था सुधार गरी यात्राको समय र यातायात सञ्चालन खर्च घटाउने भन्दै प्रधानमन्त्री प्रचण्डले यसबाट सङ्घीय राजधानी काठमाण्डाै र देशका अन्य प्रमुख शहरहरूबीचको सहज यातायात सञ्जालमा योगदान पुर्‍याउने उल्लेख गर्नुभयो । राष्ट्रिय गौरवका आयोजना र राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाहरूको निर्माण कार्य समयमै सम्पन्न गर्न मेहनत गरिरहेको भन्दै उहाँले केही दिनभित्र सुनकोशी मरिण डाइभर्सन सिँचाइ आयोजनाको पनि सुरुङ छिचोलिने बताउनुभयो ।

काठमाण्डौको चन्द्रागिरि नगरपालिकाको बलम्बुदेखि धादिङको सिस्नेखोला जोड्ने यो सुरुङमार्ग आयोजनाको मुख्य सुरुङको लम्बाइ साढे दुई किलोमिटरभन्दा धेरै अर्थात् दुई हजार छ सय ६७ मिटर रहेको छ । आयोजनाको उद्धार सुरुङ भने गएको साउनमै छिचोलिसकिएको छ ।

मुख्य सुरुङ आज छिचोलिए पनि आयोजना निर्माण सम्पन्न भएर गाडी चल्न भने अझै एकदेखि डेढ वर्षसम्म लाग्न सक्ने उपनिर्देशक दुमरुले बताउनुभयो । सुरुङ सञ्चालनमा आएपछि काठमाण्डाैकाे थानकोटबाट तीन मिनेटमै धादिङको सिस्नेखोला पुगिनेछ । अहिले काठमाण्डाैतर्फ बलम्बुबाट साढे आठ किलोमिटर दूरीमा पुगिनेमा अब सिस्नेखोला सुरुङमार्ग भएर जाँदा भने दुई किलोमिटर छ सय ८८ मिटरको दूरी तीन मिनेटमै पुगिने आयोजनाले जनाएको छ ।

आयोजना निर्माणको शुरुवाती सम्झौताअनुसार काम शुरु भएको ४२ महिनाभित्र अर्थात् गएको वर्ष वैशाखमै निर्माण सम्पन्न भइसक्नुपर्थ्याे । थपिएको समयमा पनि काम नसकिएपछि आयोजनाको अवधि एक वर्ष थप्ने तयारी छ । आयोजनामा तीन वटा अन्डरपास, चार वटा बक्स कल्भर्ट, एउटा ओभरपास, तीन वटा पुल र एउटा फ्लाईओभर रहेका छन् । बलम्बु क्षेत्रमा फ्लाईओभर निर्माणाधीन अवस्थामा रहेको छ । त्यस्तै सुरुङभित्रको सडक ढलान, बत्ती जडान, अक्सिजन पाइप जडान अर्थात् भेन्टिलेसन लगायतका काम बाँकी रहेको आयोजनाले जनाएको छ ।

२२ अर्ब रुपैयाँमा ठेक्का लागेको यो आयोजनामा जापानको साढे १६ अर्ब रुपैयाँ ऋण सहयोग छ । यसमा नेपाल सरकारको छ अर्ब रुपैयाँ लगानी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web