
काठमाडौँ । चालु आर्थिक वर्ष (आव) २०८०/८१ को पहिलो ६ महिनामै साढे १५ अर्ब रुपैयाँ नाफा कमाएको नेपाल विद्युत् प्राधिकरण बिजुली महसुल बढाउने तयारीमा लागेको छ ।
यसअघि पनि विद्युत् महसुलमा गरिएको अत्यधिक वृद्धिकै कारण निरन्तर नाफामा रहेको प्राधिकरणले पुनः उपभोक्ताको ढाड सेक्ने गरी मूल्यवृद्धि गर्ने तयारी गरेको हो ।
पूर्वाधारमा ठूलो मात्रामा लगानी गर्नुपर्ने स्थिति रहेको तर त्यसअनुसार आम्दानी नभएका कारण महसुल वृद्धि तयारी गरिएको प्राधिकरण उपकार्यकारी निर्देशक मनोज सिलवालले बताए ।
‘प्राधिकरणले प्रसारणलाइनहरूमा ठूलो मात्रामा लगानी गर्नुपरिरहेको छ । त्यसैगरी अहिले पनि विद्युत् नपुगेका ठाउँमा विद्युतीकरण पनि गर्नुपर्ने छ,’ सिलवालले अनलाइनखबरसँग भने, ‘प्राधिकरणले हरेक वर्ष ४० देखि ५० अर्ब रुपैयाँ लगानीको आवश्यकता छ । तर, अहिलेको आम्दानीले त्यो नधान्ने भएकाले महसुल वृद्धिको विकल्प देखिएको छैन ।’
प्राधिकरणले कति प्रतिशत महसुल वृद्धिको तयारी गरेको हो भन्ने विषयमा सिलवालले केही बताएनन् । तर, प्राधिकरण स्रोतका अनुसार अहिलेको महसुल दरमा कम्तीमा १५ प्रतिशत बढाउने तयारी भइरहेको छ ।
त्यहीअनुसार प्राधिकरणले सञ्चालक समिति बैठकमा पनि यसबारे छलफल गरिसकेको छ । सरकारले सबैभन्दा कम विद्युत् प्रयोग गर्ने ग्राहकलाई निःशुल्क विद्युत् दिने घोषणा, सिँचाइका क्षेत्रमा तोकिएको सस्तोमा विद्युत् दिएको तर त्यसको सोधभर्ना सरकारले नदिएको, कोभिडकालमा दिएको विद्युत् महसुल छुटको सोधभर्ना पनि नपाएको भन्दै विद्युत् महसुल बढाउनुपर्ने तर्क सञ्चालक समितिमा गरिएको प्राधिकरण स्रोतले बतायो ।
अहिले ५ एम्पियरको मिटर प्रयोग गर्ने ग्राहकले २० युनिटसम्म विद्युत् प्रयोग गर्दा मासिक न्युनतम् ३० रुपैयाँ तिर्नुपर्छ । यस हिसाबले प्रतियुनिट १ रुपैयाँ ५० पैसा सबैभन्दा कम विद्युत् दर छ । प्राधिकरणले सबैभन्दा उच्च ११ रुपैयाँ ५० पैसा प्रतियुनिटका दरले विद्युत् महसुल उठाउँदै आएको छ ।
16.12¡ÆC