
बट्टार । सहकारी सँस्थाहरु कृषि सहकारीको नाममा दर्ता भएपनि बचत तथा ऋणको कारोबारमा केन्द्रित हुने गरेको आरोप लाग्दै आइरहेको अवस्थालाई चिर्दै नमूना र रचनात्मक कार्य गर्ने अभियान अन्तरगत नुवाकोटको एक सहकारीले जिल्लामा पहिलो पटक बट्टार बजारमा कृषि सामाग्रि पसल ‘कृषि श्रोत केन्द्र’ सञ्चालनमा ल्याएको छ ।
विदुर नगरपालिका वडा नं. ५ मा कार्यालय रहेको अक्कलादेवी कृषि सहकारी सँस्थाले बिहीबारदेखि विदुर नगरपालिका वडा नंं २ बट्टारमा कृषि सामाग्रि पसल सञ्चालनमा ल्याएको हो । उक्त पसलको एक कार्यक्रमको बीच वडा नंं ५ का वडाध्यक्ष लिलानाथ न्यौपाने र विदुर नगरपालिकाको सहकारी शाखा प्रमुख नानीमैया नेपालले सयुक्त रुपमा उद्घाटन गर्नुभयो ।
कृषिमा आधुनिकीकरण र यन्त्रिकरण गर्दै परम्परागत कृषी प्रणालीलाई व्यावसायिक तर्फ लम्काउन श्रोत केन्द्रको रुपमा स्थापना भएको कृषि सामाग्रि पसलले किसानको दैनिकी र जिविकोपार्जनमा महत्वपूर्ण योगदान पुराउने वडा नंं ५ का वडाध्यक्ष लिलानाथ न्यौपानेले बताउनुभयो । देशका केही स्थानमा सहकारी सँस्थाकाको गतिविधिले सदस्यहरु समस्यामा पर्न थालेको समयमा अक्कलादेवी सहकारी सँस्थाको भूमिका निकै प्रभावकारी रहेको उहाँले बताउनुभयो ।

उक्त कार्यक्रममा कृषि सामाग्रिको सहज आपूर्ति, किसानको लागी जिल्लामा नै कृषि उपकरणको उपलब्ध र कृषि सहकारीको शेयर लगानी कृषि क्षेत्रमा नै गरेको योगदान प्रशंसनीय रहेको वडा नं. २ का वडाध्यक्ष दिपक कायस्थले बताउनुभयो ।
यसैगरी, विदुर नगरपालिकाको कृषि शाखा प्रमुख नानीमैयाँ नेपालले कृषि सहकारीहरुलाई समेत गोलबन्ध हुने वातावरण तयार गरेर नगरमा रहेका कृषि सहकारीहरु सबैको प्रतिनिधित्व गर्नको लागी अक्कलादेवी कृषि सहकारीलाई सुझाब दिनुभयो ।
कृषि क्षेत्रको विकासको लागी किसानलाई सहयोग पुराउन सञ्चालनमा रहेको अक्कलादेवी कृषि सहकारीले दुग्धजन्य सामाग्रि, सहुलियत शुल्कमा सदस्यहरुलाई रासायनिक मल उपलब्ध गराउदै आएकोमा अब सहकारीका सदस्यहरुको लगानीमा सहकारीको नेतृत्वमा जिल्लामा नै पहिलो पटक सहकारी सँस्था मार्फत कृषि औजार सामाग्रि राखिएको हो ।
मुक्तिनाथ कृषि कम्पनी लि.को आधिकारिक कृषि श्रोत केन्द्रको रुपमा अक्कलादेवी कृषि सहकारी सँस्थाले तत्कालको लागी नुवाकोट र रसुवाको किसानको लागी दैनिक जीवनयापनमा प्रत्यक्ष सहयोग पुराउने अत्यावश्यक सामाग्रिहरु उपलब्ध गराएको सहकारीका अध्यक्ष राजकुमार अर्जेलले जानकारी दिनुभयो ।
उहाँको अनुसार अहिले श्रोत केन्द्रमा कृषि उपकरण अन्तरगत फोरह्वील समेतका विभिन्न क्षमताका खनजोत गर्ने ट्याक्टरहरु, मकै लगाउने, छोडाउने मेसिन, मिल, विषादी छर्ने ड्रोन समेतका मेसिन लगायतका किसानका दैनिक कृषि कर्ममा आवश्यक पर्ने सबै सामाग्रिहरु उपलब्ध गराइएको छ ।
सहकारी मार्फत किसानको हितको लागी सञ्चालन गरिएको हुदाँ सुपथ मूल्य राखिएको छ भने कृषि सामाग्रिको उपकरण उत्पादनमा प्रतिष्ठित कम्पनीहरुसंगको साझेदारीमा रहेको मुक्तिनाथ कृषि कम्पनी लि.को सामानहरु गुणस्तरीय रहेको बताइएको छ ।
सहकारीले आफ्ना सामाग्रिहरुको बिक्री पश्चात मर्मतसम्भारको लागी मर्मत प्राविधिकको सुविधा, कृषि सामाग्रिको बीऊबिजन र विषादी समेत उपलब्ध गराउन लागिएको अध्यक्ष अर्जेलले जानकारी दिनुभयो । कृषि श्रोत केन्द्रबाट नुवाकोट र रसुवाका किसानलाई हावापानी अनुकुलको कृषि उपलब्ध गराउनको लागी प्राविधिक मार्फत परामर्श सेवा निःशुल्क रुपमा समेत उपलब्ध गराइएको छ ।
करीब सातसय शेयर सदस्य रहेको सहकारीको शेयर पुँजी दुई करोड रुपैयाँ रहेको छ । अहिले कृषि श्रोत केन्द्र स्थापनाको लागी ५० लाख रुपैयाँ लगानी गरेको छ भने किसानलाई कृषि पेशामा आधुनिकीकरण, व्यावसायिकरण र यन्त्रिकरणतर्फ लम्काई उत्पादन बृद्धि गराउन, दैनिक कर्मलाई सरल बनाउन किसानको माग अनुसारको थप यन्त्रउपकरण सहितको सेवा विस्तार गर्दै लैजाने योजना सहकारीले बनाएको छ ।
17.12¡ÆC