नेपालको सार्वजनिक ऋण २३ खर्ब ८४ अर्ब पुग्यो

माघ ८, २०८० मा प्रकाशित | 275 views

काठमाडौँ । देशको सार्वजनिक ऋणको आकार २३ खर्ब ८४ अर्ब रुपैयाँ नाघेको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार पुस मसान्तसम्ममा भुक्तान बाँकी रहेको सार्वजनिक ऋणको सावाँ ब्याज गरी २३ खर्ब ८४ अर्ब ४८ करोड ६० लाख रुपैयाँ बक्यौता रहेको हो । जसमा आन्तरिक ऋणको हिस्सा ५० दशमलव ५ प्रतिशत र बाह्य ऋणको हिस्सा ४९ दशमलव ५ प्रतिशतको रहेको छ । नेपालको तिर्न बाँकी सार्वजनिक ऋणको आकार वार्षिक बजेटभन्दा ६ खर्ब ३३ अर्ब १७ करोड ३९ लाख रुपैयाँले बढी हो ।

चालु आर्थिक वर्षको अनुमानित बजेट १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपैयाँको रहेको छ । मङ्सिर मसान्तसम्ममा सार्वजनिक ऋणको तिर्न बाँकी सावाँ ब्याज २३ खर्ब ७१ अर्ब २५ करोड ९५ लाख रुपैयाँ रहेकोमा पुष महिनामा मात्रै १३ अर्ब २२ करोड ६५ लाख रुपैयाँ दायित्व बढेको हो ।

गएकाे आर्थिक वर्ष २०७९/८० मा नेपालको कुल सार्वजनिक ऋण २२ खर्ब ९९ अर्ब ३५ करोड रुपैयाँ बराबर थियो । अर्थात् चालु आर्थिक वर्षकाे ६ महिनामा मात्र ८५ अर्ब १३ करोड रुपैयाँ बराबर सार्वजनिक ऋण थपिएको छ ।

पछिल्लो ५ वर्षमा मात्रै सरकारी ऋण दोब्बर भएको छ । आर्थिक वर्ष २०७५/७६ मा सरकारी ऋण १० खर्ब ४८ अर्ब १५ करोड रुपैयाँ बराबर थियो । यस्तो ऋण बर्सेनि बढेर आर्थिक वर्ष २०७६/७७ मा १४ खर्ब ३३ अर्ब, आर्थिक वर्ष २०७७/७८ मा १७ खर्ब ३७ अर्ब र आर्थिक वर्ष २०७८/७९ मा २० खर्ब १३ अर्ब रुपैयाँ पुगेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web