शरद ऋतुमा हिमाल आरोहणका लागि ४३६ जनालाई अनुमति

अशोज १४, २०८० मा प्रकाशित | 442 views

काठमाडौँ । यस वर्षको शरद ऋतुमा नेपालको हिमाल आरोहणका लागि अनुमति लिनेको सङ्ख्या ४ सय ३६ जना पुगेको छ । शुक्रबार बेलुकासम्म अनुमति लिनेमा ९४ जना महिला रहेका छन् । यस वर्षको शरद ऋतुमा सबैभन्दा धेरै मनास्लुमा ३ सय १ जना सहित २६ वटा हिमाल आरोहणका लागि अनुमति जारी भएको पर्यटन विभागले जनाएको छ ।

यस्तै धौलागिरीमा २३, हिमलुङमा १४ र आमाडब्लममा १० जनाले अनुमति लिएका छन् । बाँकी हिमालमा अनुमति लिनेको सङ्ख्या १० जना भन्दा कम छ । अनुमतिलिनेहरुमा नेपाल सहित ५१ वटा देशका नागरिक रहेका छन् । सबैभन्दा धेरै चीनका ६७ जना छन् । आरोहण अनुमतिबापत सरकारले चार करोड १० लाख रुपैयाँ रोयल्टी सङ्कलन गरेको छ ।

शरद ऋतुको आरोहण भने एक हप्ता भन्दा अघिदेखि नै चलिरहेको छ । वसन्त ऋतुको आरोहण सिजनमा सगरमाथामा आरोहीहरुको भिड लागेजस्तै शरद ऋतुमा मनास्लु हिमालमा आरोहीहरुको भिड लाग्ने गर्दछ ।

नेपालमा विश्वको सर्वोच्च शिखर सगरमाथा सहित १ हजार ३ सय १० वटा हिमाल रहेका पर्यटन विभागको तथ्याङ्क छ । यी हिमाल मध्ये ४ सय १९ वटा हिमालमा सरकारले आरोहण खुल्ला गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web