रसुवागढी नाकामा दुई महिनामै ५ अर्ब रुपैयाँभन्दा बढी राजस्व सङ्कलन

अशोज ४, २०८० मा प्रकाशित | 588 views

रसुवा । रसुवा भन्सार कार्यालय टिमुरेले चालु आर्थिक वर्षको दुई महिनामै पाँच अर्ब १३ करोड ९९ लाख ३० हजार रुपैयाँ राजश्व सङ्कलन गरेकाे छ ।

नेपाली बजारका लागि चीनबाट तयारी पोसाक, जुत्ता, चप्पल, रोल कपडा, बच्चाको खेलौना, विद्युतीय सामग्री, मोटरका स्पेयरपार्ट्स, विद्युतीय मोटर कारसमेतका साना ठूला गाडी, हाइड्रोपावरका सामग्री, मेसिनरी उपकरणका पार्टपुर्जा, थर्मस, स्याउ, ओखर, लसुन, अदुवालगायतका आयात सामग्रीको शुल्कबापत राजस्व वृद्धि भएको हो ।

भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकका अनुसार साउन तथा भदौ महिनामा केरुङ हुँदै रसुवागढी नाकाबाट नेपालमा आयात भएका चिनियाँ सामग्रीको नियमानुसार भन्सार शुल्कबापत राजश्व असुली गरिएकाे हाे।

साउन भदौको असुली लक्ष्य एक अर्ब चार करोड ४१ लाख २१ हजार रुपैयाँ भएकोमा पछिल्लो समय व्यवसायीले आयात परिमाण बढाएको र निर्देशिकाको मर्मअनुसार मालवस्तुको गुणस्तरका आधारमा मूल्याङ्कन भएका कारण भन्सार शुल्कबापतको राजस्व वृद्धि भएको जनाइएको छ।

गएकाे आव २०७९/८० को साउन तथा भदौ महिनाको तुलना गर्दा यस चालु आवमा उल्लेखनीयरूपले राजस्व वृद्धि भएको हो । चालु आवको साउन र भदौ महिनामा लक्षित गरिएको अनुमानभन्दा दुई सय नौ प्रतिशतले असुलीमा वृद्धि भएको हो ।

व्यवसायीले मालसामग्री भन्सार हातामा भित्र्याए प्राथमिकताका आधारमा छिटोभन्दा छिटोजाँचपास गर्ने व्यवस्था मिलाइएको भन्सार अधिकारीले बताएका छन् ।

यस्तै, नेपाली व्यवसायीले झिकाएको करिब पाँच सय चिनियाँ विद्युतीय कार भने क्रमिकरूपमा भन्सार छुटाइ काठमाण्डाै लैजाने कार्य धमाधम अगाडि बढिरहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web