साउन सकिए पनि रोपाइँको काम अझै बाँकी

साउन ३२, २०८० मा प्रकाशित | 417 views

काठमाडौँ । देशभर यसवर्ष झण्डै ९० प्रतिशत मात्र रोपाइँ भएको छ । अघिल्लो वर्ष यही अवधिमा ९४ प्रतिशतसम्म रोपाइँ भएको थियो । देशभर १४ लाख ८८ हजार ४९ हेक्टरमा धान रोपाइँ हुन्छ । तर यसपालि झण्डै १३ लाख हेक्टरमा मात्रै रोपाइँ भएको छ ।

कृषि मन्त्रालयका अनुसार सबैभन्दा कम मधेस प्रदेशमा ७० प्रतिशत मात्रै रोपाइँ भएको छ । अब रोपाइँ हुन नसके धानको उत्पादन घट्ने र नेपालले गर्दै आएको धान/चामलको आयात थप बढ्नेछ । यसवर्ष धान रोपाइँ हुने क्षेत्रफल घटेको छ । विशेषगरी मधेस, बाग्मती र गण्डकीमा ढिला मनसुन शुरु हुँदा र पशुचौपायामा फैलिएको लम्पी स्किन रोगका कारण रोपाइँमा कमी भएको कृषि मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता सवनम शिवाकोटीका अनुसार यसवर्ष सबैभन्दा कम मधेसमा झण्डै ७० प्रतिशत रोपाइँ भएको छ । अझै केही दिन रोपाइँ हुने भएकाले यो तथ्याङ्क बढ्ने अनुमान छ । गएको वर्ष मधेसमा साउन सकिँदा झण्डै ९३ प्रतिशतसम्म रोपाइँ भएको थियो ।

मनसुनमा पानी नपर्दा आकाशे पानीको भरमा रहेका मधेस प्रदेशका धेरै किसानले धान नै रोप्न पाएनन् । तर केही दिनअघिको पानीले थोरै भए पनि राहत पुगेको किसानको भनाइ छ । मधेस प्रदेशका आठवटै जिल्लामा गरी कुल पाँच लाख ७४ हजार तीन सय ६० हेक्टर खेतीयोग्य जमिन रहेकोमा चार लाख पाँच हजार चार सय ५० हेक्टर क्षेत्रफल धान रोपाइँ योग्य जग्गा छ ।

साउनको तेस्रो हप्तासम्म ६० प्रतिशत मात्रै रोपाइँ भएकोमा पानी परेपछि झण्डै १० प्रतिशत बढेर ७० प्रतिशत पुगेको मधेस प्रदेशको कृषि मन्त्रालयका प्रवक्ता एवम् खाद्य सुरक्षा तथा कृषि व्यवसाय प्रवर्द्धन महाशाखाका प्रमुख रोशन मेहताले बताउनुभएको छ ।

धान उत्पादनको धेरै हिस्सा ओगट्ने तराई–मधेसलाई अन्नको भण्डार मानिन्छ । धानबाली विज्ञ सुशील सुवेदीका अनुसार यसवर्ष उत्पादन घट्ने देखिएको छ । भदौ पहिलो हप्तासम्म पनि तराईका केही क्षेत्रमा रोपाइँ हुन सक्ने तर असार–साउनमा रोपेको धानले दिने जति उत्पादन नदिने विज्ञको भनाइ छ ।

बुढो भएको बिउबाट त्यति धेरै फल नलाग्ने धानबाली विज्ञ सुवेदी बताउनुहुन्छ । धेरै धान फल्ने क्षेत्रमै कम रोपाइँ हुँदा उत्पादन घट्ने चिन्ता छ । जग्गा बाँझो राख्नुभन्दा बिउको जोहो गर्न सके धान रोप्न र धानबाली नभए अरु दलहन, कोदोजन्य बाली तथा तरकारी खेती गर्न उहाँको सुझाव छ ।

सुक्खायाममा पनि उत्पादन हुन सक्ने बाली लगाएर बाँझो जग्गाको सदुपयोग गर्न र उत्पादन लिन सकिने उहाँको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web