त्रिशूली । लघुवित्त वित्तीय सँस्था विरुद्धको अराजक गतिविधि बढ्दै गएको भन्दै देशभरका लघुवित्तकर्मीहरुले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।
नेपाल लघुवित्त बैकर्स संघको आयोजनामा आज देशभरबाट प्रमुख जिल्ला अधिकारी मार्फत वित्तीय सँँस्थाको शान्ति सुरक्षाको माग तथा अराजक गतिविधि रोक्न गर्न माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराइएको हो ।
गरिबीको न्यूनिकरण, वित्तिय पहुँचको बृद्धि, महिला सशक्तिकरण तथा उद्यमीकरणमा महत्वपूर्ण योगदान पुराउदै आएको वित्तीय सँस्था विरुद्ध पछिल्लो केही समयदेखि अराजक व्यक्ति र राजनीतिक दलका नामका समूहबाट सुनियोजित रुपमा सेवा प्रवाहमा अबरोध गर्ने लगायतका बिरोधका कार्यक्रमबाट कानून हातमा लिने प्रयास भइरहेको भन्दै नुवाकोट सहित देशभरबाट नेपाल लघुवित्त बैकर्स संघले प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाएको सघका नुवाकोट संयोजक शैलेन्द्र पाण्डेले जानकारी दिनुभएको छ ।
उहाँको अनुसार प्रत्येक जिल्लाहरुबाट ज्ञापनपत्र बुझाउने कार्यक्रम अन्तरगत नुवाकोटमा कार्यरत लघुवित्तकर्मीहरुले आज नुवाकोटका प्रमुख जिल्ला अधिकारी किरण थापा मार्फत प्रधानमन्त्री प्रचण्डलाई बुझाइएको हो ।

ज्ञापनपत्रमा विगत ३० वर्षदेखि नेपालको ग्रामीण क्षेत्रको अर्थतन्त्र सुधारमा वित्तिय सँस्थाहरुले पुराएको योगदानको स्मरण गराउदै केही अराजक गतिविधिमा संलग्न रहेका व्यक्तिहरुले ‘लघुवित्त विरुद्धको संघर्ष समिति’नामक अबैध समूह गठन गरेर सोझासिधा व्यक्तिहरुलाई सदस्य बनाएर वित्तीय सँस्थाबाट लिएको ऋण तिर्न पर्दैन, लिएको ऋण मिनाहा गरिदिन्छौ लगायतका झुठा आश्वासन र भ्रम सिर्जना गराई उनीहरुबाट ५०० देखि दुई हजार रुपैयाँसम्म सदस्यता शुल्कको नाममा करोडौ रुपैयाँ उठाएर समाजमा बैंक तथा वित्तिय सँस्था विरुद्धको भ्रम फैलाउने तथा डरधम्की देखाउदै आएको हुदाँ त्यस्ता गतिविधिमा संलग्नलाई पक्राउ गरेर कारबाही गर्न माग गरिएको छ ।
पछिल्लो समयमा देशको कमजोर बनेको अर्थतन्त्रको फाइदा उठाउदै केही अराजक गतिविधिमा संलग्न व्यक्ति तथा दलहरुले बनाएको अबैध समूहमा आबद्ध भएका व्यक्तिहरुको कारण नेपाल राष्ट्र बैंक लगायतका नियामक निकायमार्फत अनुमति लिएर नियमसम्बद्ध सञ्चालन भएर देशको अर्थतन्त्र सुधारमा महत्वपूर्ण योगदान पुराउदै आएका वित्तीय सँस्थाहरु विरुद्ध आच पुराउने, लाखौ जनताको बैंकिङ्क सेवा प्रतिको भरोसालाई प्रत्यक्ष प्रभाव पुराई समग्र देशको अर्थतन्त्रमा नाकारात्मक प्रभाव पुराउने लगायतका गैह्रकानूनी क्रियाकलाप भइरहेकाले त्यस्तो कार्यमा सलग्नलाई कडा कारबाही गरेर निर्बाध रुपमा सेवा प्रवाह गर्ने वातावरण सुनिश्चित गराउन विज्ञप्ती मार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको छ ।
लामो समयदेखि अराजक गतिविधिको कारण वित्तीय सँस्थाको नियमित सेवा प्रवाहलाई खलल पुराउदै वित्तीय सँस्था विरुद्ध तालाबन्दी गर्ने, आबद्ध कर्मचारीको मनोबल गिराउने, कार्यालयमा तालाबन्दी गर्ने, कार्यक्षेत्रमा खटिदा आक्रमणसम्मको प्रयास भइरहेको भन्दै शान्ति सुरक्षाको प्रत्याभूति नभएमा देशभरका वित्तीय सँस्था बन्द गरेर थप संघर्षमा उत्रन बाध्य हुने चेतावनी दिइएको छ ।
नेपाल लघुवित्त बैकर्स संघ, नुवाकोट सहित देशभरबाट बुझाइएको ज्ञापनपत्रमा निर्बाध रुपमा सेवा प्रवाह गर्ने वातावरण सुनिश्चित गर्न मातहतका सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिई शान्ति सुरक्षाको आवश्यक प्रबन्ध मिलाई ग्रामीण अर्थतन्त्र सुधार र गरिबको रेखामुनी रहेका महिलाहरुको सशक्तिकरण सहित उनीहरुको आर्थिक जीवनस्तर सुधारमा पुराउदै आएको योगदानको सम्मान गर्न माग गरिएको छ ।
प्रधानमन्त्री प्रचण्डलाई बुझाइएको ज्ञापन पत्रमा आगामी आर्थिक वर्षको लागि नेपाल सरकारले ल्याएको बजेट बक्तव्यमा ‘लघुवित्त क्षेत्रको सुदृढिकरणका लागी लिने नीतिगत व्यवस्था’ प्रति नेपाल लघुवित्त बैकर्स संघले स्वागत गर्दै अहिले देखा परेको अराजक गतिविधि विरुद्धको क्रियाकलाप रोक्नको माग गरिएको हो ।
नेपाल लघुवित्त बैकर्स संघ, नुवाकोटले बुझाएको ज्ञापनपत्र प्रधानमन्त्रीलाई सम्बोधन गरिएको हुनाले आवश्यक कारबाहीको लागी प्रधानमन्त्री कार्यालयमा पठाइदिएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी किरण थापाले बताउनुभयो ।


16.12¡ÆC