बाग्मतीको बजेट ६२ अर्ब ७० करोड रुपैयाँ

असार १, २०८० मा प्रकाशित | 368 views

मकवानपुर । बाग्मती प्रदेश सरकारले आउँदाे आर्थिक वर्ष २०८०/८१ का लागि ६२ अर्ब रुपैयाँभन्दा धेरैकाे बजेट ल्याएकाे छ । प्रदेशका आर्थिक मामिला तथा याेजनामन्त्री बहादुरसिंह लामाले शुक्रवार प्रदेश सभामा ६२ अर्ब ७० करोड ९० लाख रुपैयाँकाे बजेट प्रस्तुत गर्नुभयाे ।

प्रदेश सरकारले ११ वटा मन्त्रालयमार्फत खर्च गर्ने गरी बजेट ल्याएको हो । प्रदेशको भौतिक मन्त्रालयका लागि सबैभन्दा धेरै २१ अर्ब ६६ करोड रुपैयाँ छुट्याइएको छ । बजेटमध्ये चालुतर्फ २६ अर्ब ७० करोड २७ लाख ६९ हजार (४२ दशमलव ५८ प्रतिशत), पुँजीगततर्फ ३५ अर्ब ५० करोड ६३ लाख नाै हजार (५६ दशमलव ६२ प्रतिशत) र वित्तीय व्यवस्थातर्फ ५० करोड (शून्य दशमलव ८ प्रतिशत) रुपैयाँ विनियोजन गरेको मन्त्री लामाले बताउनुभयो ।

आउँदाे आर्थिक वर्षको खर्च बेहाेर्ने स्रोतमध्ये कर राजस्वबाट २५ अर्ब १७ करोड २६ लाख, अन्य राजस्वबाट पाँच अर्ब २६ करोड ९४ लाख, सङ्घीय वित्तीय हस्तान्तरणबाट १७ अर्ब ८१ करोड २३ लाख, चालु आर्थिक वर्षको अनुमानित सञ्चित कोषको बचत र अन्यबाट १४ अर्ब ४५ करोड ४७ लाख बेहाेर्ने अनुमान गरिएको छ ।

बजेटमा हेटौँडाको कर्रा काेरिडोरका लागि १५ करोड रुपैयाँ विनियोजन गरिएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयका लागि चार अर्ब रुपैयाँ बजेट छुट्याइएकाे छ ।

जनता आवास कार्यक्रमलाई आउँदो आर्थिक वर्षमा पनि बजेट छुट्याइएको छ । सहरी तथा सहर उन्मुख क्षेत्रमा सडक, फुटपाथ, साइकल लेन, बिरुवा रोप्ने काम गर्ने गरी बजेट विनियोजन गरिएको छ । प्रदेश सरकारले पालिकालाई अनुदानस्वरूप चार अर्ब ८३ करोड रुपैयाँ छुट्याएको छ ।

सरकारले सन् २०२४ लाई बाग्मती प्रदेश भ्रमण वर्षको रूपमा मनाउने भएको छ । अलपत्र रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका लागि पाँच करोड रुपैयाँ छुट्याइएकाे बजेटमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web