बाग्मतीका मुख्यमन्त्री जम्कट्टेललाई १ सय ५ सांसदको विश्वासको मत

माघ ४, २०७९ मा प्रकाशित | 737 views

मकवानपुर । बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलाई नेपाली कांग्रेसले समेत विश्वासको मत दिएको छ । प्रदेश सभाको हल हेटौँडामा मङ्गलवार भएको मतदानमा जम्कट्टेलले एक सय १० सांसदमध्ये एक सय पाँच जनाको मत पाउनुभएको हो ।

सङ्घीय सरकारलाई विश्वासको मत दिएर आलोचित भएको नेपाली कांग्रेसले बाग्मती प्रदेशमा पनि नेकपा माओवादी केन्द्रको तर्फबाट मुख्यमन्त्री बन्नुभएका शालिकराम जम्कट्टेलाई विश्वासको मत दिएको हो ।

बाग्मती प्रदेशमा सबैभन्दा ठूलो दल रहेको कांग्रेससँग ३७ जना सांसद छन् । मुख्यमन्त्री जम्मकट्टेलको पक्षमा एक सय पाँच जना सांसदले मत दिएका छन् भने विपक्षमा नेपाल मजदुर किसान पार्टीका तीन जना सांसदले मत दिएका छन् । एक जना सांसद अनुपस्थित हुँदा सभामुख तटस्थ रहनुभएको छ । एक सय सांसद रहेको प्रदेश सभामा विश्वासको मत पाउन ५६ सांसद भए पुग्थ्यो ।

जम्कट्टेलले कांग्रेसका ३७, एमालेका २७, माओवादीका २१, राप्रपाका १२, एकीकृत समाजवादीका सात र हाम्रो नेपाली पार्टीका दुई सांसद गरी एक सय पाँच जना सांसदको मत पाउनुभएकाे हाे ।

प्रदेश सभा बैठकमा नेपाली कांग्रेसबाट बहादुरसिंह लामा, नेकपा एमालेबाट जगन्नाथ थपलिया, माओवादीबाट युवराज चौलागाईं, राप्रपाबाट कुमारी तामाङ, समाजवादीबाट कृष्ण शर्मा खनाल, नेमकिपाबाट सुरेन्द्रराज गोसाईं र हाम्रो नेपाली पार्टीबाट शैलेन्द्रमान बज्राचार्यले धारणा राख्नुभएकाे थियाे ।

संसदीय दलको कार्यालय हेटौँडामा आज बसेको बैठकले निर्णय नै गरेर कांग्रेसका सबै सांसदले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिएका हुन् । मुख्यमन्त्रीलाई विश्वासको मत दिएर गुण र दोषको आधारमा सशक्त प्रतिपक्षीको भूमिकामा रहने निर्णय गरेको संसदीय दलका नेता बहादुरसिंह लामाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web