रसुवा । लाङटाङ जाने पर्यटकीय पदमार्गको झोलुङ्गे पुल जीर्ण भएकाले पुनःनिर्माण गरिदिन स्थानीयवासीले संघीय सरकारसंग माग गरेका छन् । २०७२ मा गएको शक्तिशाली भूकम्पले पदमार्ग अन्तर्गत गोसाइँकुण्ड गाउँपालिकास्थित दोमेन खोलाको झोलुङ्गे पुललाई क्षति पुर्याएको थियो । तत्कालै आउजाउ सञ्चालन गर्न निजी स्तरबाट काठेपुल निर्माण गरिएको थियो । स्थानीयबासीले बनाएको काठेपुल अहिले जीर्ण भएकाले नयाँ झोलुङ्गे पुलको निर्माण स्थानीयबासीले माग गरेको हो ।
हिमाली पदयात्राको लागि हरेक वर्ष सयौ पर्यटक लाङटाङ पुग्ने गरेका छन् । स्थानीयवासीले थाङसेप माथि छार्तिङ खोलामा समेत झोलुङ्गे पुल निर्माण गरिदिन माग गरेका छन् । त्यहाँ भूकम्पको असरले हिमपहिरो आउँदो झोलुङ्गे पुल बगाइ पर्यटक आवागमनमा असर परेको जनाइएको छ ।
स्याफ्रुबेँसीदेखि खोलाको तिरैतीर लाङटाङ जाने १८ किलोमिटर पदमार्ग अन्तर्गतका भागमा पर्ने झोलुङ्गे पुल निर्माणको साथसाथै पदमार्ग समेत मर्मत एवं पुनःनिर्माण गरिदिन माग गरिएको गोसाइँकुण्ड गाउँपालिका वडा नं ४ का वडाध्यक्ष डिण्डुप लामा ज्याङ्वाले बताउनुभएको छ ।
पदमार्ग सहज नहुँदा विशेष गरी वर्षायाममा पदयात्रीको ज्यान समेत जोखिममा परिरहेको कारण सरोकारवाला निकायले समयमै ध्यान दिन स्थानीयद्वारा आग्रह गरिएको उहाँले बताउनुभएको हो ।
रसुवाको लाङटाङ जाने बृद्विम तर्फबाट खाम्जिङ, शेर्पागाउँ, रिम्चेतर्फको पुरानो बाटो भए पनि स्याफ्रुबेँसीदेखि खोला तिरतिरै तर्फकै पदमार्ग बढी प्रयोगमा आउने गरेको छ ।
नेपालको तेस्रो पर्यटकीयस्थलको रूपमा मानिएको लाङटाङ पदमार्गको विकासका लागि नेपाल पर्यटन वोर्ड लगायत सरोकारवाला निकायले विशेष कार्यक्रम ल्याई पर्यटन विकासको प्रवद्र्धनमा सहयोग गरिदिन लाङटाङका बासिन्दाले माग गरेका छन् ।
15.31¡ÆC