चिसो बढेसँगै रसुवामा पर्यटकको सङ्ख्या घटे

पुस २९, २०७९ मा प्रकाशित | 898 views

रसुवा । चिसोपन बढेसँगै रसुवा जिल्लामा आन्तरिक तथा बाह्य पर्यटक जाने सङ्ख्या घटेको छ ।

गोसाइँकुण्डको तीर्थलगायत लाङ्टाङ र तामाङ सम्पदा मार्गका उच्च क्षेत्रमा अत्यधिक चिसोका कारण पर्यटक जाने दर घटेको हो । रातिको समयमा परेको शीत बिहानसम्ममा पूरै बरफमा परिणत हुने भएकाले आगामी फागुन १५ सम्म होशियारपूर्वक यात्रा गर्नुपर्ने स्थानीयवासीले जनाएका छन् ।

अहिले गोसाइँकुण्डको पानीसमेत जमेर बरफमा परिणत भइसकेकाले यस याममा तीर्थको महत्वभन्दा सेताम्मे हिमशृङ्खला अवलोकन गर्न थोरबहुत यात्रुमात्र भ्रमणमा आउने गरेको होटल व्यवसायी सङ्घका जिल्ला अध्यक्ष रामशरण गजुरेलले बताउनुभएको छ ।

हिमाली पदयात्राका लागि आएका पर्यटकले उत्तरी रसुवाअन्तर्गत उच्चभागमा रहेको गोसाइँकुण्ड, लाङ्टाङ क्षेत्र एवं तामाङ सम्पदामार्गको ग्रामीण बस्तीसमेतका क्षेत्रमा भ्रमण गर्ने गरेको उहाँले जानकारी दिनुभएको छ ।

पर्यटकको आगमन कमी भएकाले सबै व्यवसायीले आ–आफ्ना होटल तथा लज सुदृढीकरण गर्न थालेका छन् । होटल तथा लजको रङरोगन गराउने र सिरक तथा डस्ना मर्मत एवं नयाँ खरिद एवं ढुवानी गर्ने कार्य भइरहेको बताइएको छ ।

विगतको तुलनामा यस वर्षको सुरुवाती समयबाटै होटल तथा लज चलायमान भइसकेका र दोस्रो याम अर्थात फागुन १५देखि बढी पर्यटकको आगमन हुने यहाँका व्यवसायीको आँकलन छ ।

लाङ्टाङ राष्ट्रिय निकुञ्जका सूचना अधिकारी मिलन सापकोटाका अनुसार चालु आर्थिक वर्षको साउनदेखि यही पुस २६ गतेसम्म आन्तरिक १२ हजार पाँच सय ३०, सार्क राष्ट्रका दुई सय ४५, अमेरिका, जर्मन, जापान, अष्ट्रेलिया लगायत देशबाट आएका चार हजार पाँच सय ५२ विदेशी पर्यटकले निकुञ्जको पर्यटकीय क्षेत्र भ्रमण गरेको तथ्याङ्कमा उल्लेख छ ।

पर्यटक निकुञ्जको भू–भागमा प्रवेश गरेवापत लाग्ने शुल्कबाट एक करोड ६६ लाख ५८ हजार पाँचसय २५ राजस्व दाखिला भएको उल्लेख गरिएको छ । हिमाल र कुण्ड सहित उकाली ओेराली, भञ्ज्याङ चौतारी, तामाङ संस्कृतिका नाचगानसमेतले रसुवा पुग्ने पर्यटकलाई मनमोहक बनाउने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web