
दुईपिपल । बेलकोटगढी नगरपालिकाको नगरप्रमुख जगतबहादुर गुरुङले शिक्षा र स्वास्थ्य क्षेत्रको विकास नै अहिलेको स्थानीय सरकारको मुख्य लक्ष्य रहेको बताउनुभएको छ ।
बेलकोटगढी नगरपालिका वडा नं. ५ दुईपिपल डबलीमा रहेको कामरुदेवी माध्यमिक विद्यालयको बुधबार आयोजित अभिभावक भेलालाई सम्बोधन गर्दै नगरप्रमुख जगतबहादुर गुरुङले सामुदायिक र सँस्थागत गरेर दुई बर्गमा रहेको शिक्षाको विभेदकारी नीतिलाई अन्त्य गर्न सामुदायिक विद्यालयको सुधारको लागी नगरपालिकाको तर्फबाट आवश्यक अध्ययन तथा योजना निर्माणको चरणमा रहेको बताउनुभयो ।
अहिलेको शिक्षाको अवस्था, शिक्षक अभावको समस्या, पाठ्यक्रम तथा प्रश्नपत्रको गुणस्तरीयता, सिप तथा क्षमता अभिबृद्धिको सिकाई, प्राविधिक सिकाईको अवस्था लगायतसंग सम्बन्धित तथ्याङ्क संकलनको क्रममा रहेकाले चालु शैक्षिकसत्र सम्पन्न पछि नयाँ स्वरुपमा अघि बढ्न लागिएको उहाँले बताउनुभयो ।
कामरुदेवी माविको नयाँ व्यवस्थापन समिति गठन प्रयोजनको लागी आयोजित अभिभावक भेलामा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुलबहादुर श्रेष्ठले साविक दुईपिपल गाविस तथा हाल वडा नं. ५ को सबैभन्दा पूरानो विद्यालयको रुपमा रहेको कामरुदेवी माविको शैक्षिक गुणस्तर बृद्धिमा विद्यालयले निकै सुधार गर्न सफल भएकाले थप सुधारको लागी योजनाबद्ध रुपमा लागिरहेको बताउनुभयो ।
विद्यालयको बार्षिक प्रतिवेदन पेश गर्दै प्रधानध्यापक सावित्री अर्यालले विद्यालयमा विद्यार्थी सङ्ख्या बढ्दै गएको, विद्यार्थीले प्राप्त गर्ने जिपिएमा सुधार हुदै आएको, विभिन्न प्रतियोगिता तथा प्रतिस्पर्धामा विद्यार्थीको प्रस्तुती उत्कृष्ट बनाउन सफल भएकाले आगामी दिन प्राविधिक तथा सिप विकासका कार्यक्रम सञ्चालन गरेर दक्ष जनशक्ति उत्पादनको लागी विद्यालयले नगरपालिकासंग सहकार्य गरेर प्राप्त निर्देशन अनुसार अघि बढ्ने बताउनुभयो ।
अभिभावक भेलामा बेलकोटगढी नगरपालिका वडा नं. ५ को वडाध्यक्ष मदन भुजेल सहित स्थानीयतहका जनप्रतिनिधिहरु, छिमेकी विद्यालयका प्रधानध्यापक तथा शिक्षकहरु, व्यवस्थापन समितिको पूर्व पदाधिकारीहरु, पूर्व शिक्षक एंव पूर्व विद्याथीहरु, स्थानीय समाजसेवी तथा बुद्धिजिवी शिक्षाप्रेमी लगायतको उपस्थिती रहेको थियो ।
अभिभावक भेला मार्फत विद्यालय व्यवस्थापन समितिको नयाँ नेतृत्व चयनको लागी नयाँ प्रक्रिया अघि बढेपनि अन्तिम निष्कर्ष भने निक्लन बाँकी रहेको विद्यालयका सहायक प्रधानध्यापक विष्णुलाल श्रेष्ठले जानकारी दिनुभएको छ ।
24.12¡ÆC