त्रिशूली । नुवाकोट क्षेत्र नं २ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले जिल्लाको विकासमा चासो देखाउनुभएको छ । यही मंसिर ४ को निर्वाचनमा नुवाकोट क्षेत्र नं २ बाट निर्वाचित भएका केसीले जनताको समस्याहरुबारे छलफल गरि आवश्यक निर्देशन समेत दिनुभएको हो । जिल्ला प्रशासन कार्यालय नुवाकोटका राष्ट्रसेवक कर्मचारीहरुलाई प्रशासन कार्यालयबाट हुने कामकारबाही प्रभावकारी बनाउन निर्देशन दिनुभएको उहाँको स्वकीय सचिव सरोज केसीले जानकारी दिनुभएको छ ।
जिल्ला प्रशासन कार्यालय नुवाकोटमा आज आयोजित परिचयात्मक तथा छलफल कार्यक्रममा पूर्वमन्त्री समेत रहनुभएका संघीय सासद् केसीले प्रक्रिया पूरा गरेपनि नागरिकता प्राप्त गर्न नागरिकले सास्ती पाउँदै आएको भन्दै त्यसलाई हटाउन निर्देशन दिनुभएको छ । यस्तै राष्ट्रिय परिचयपत्र सहज रुपमा उपलब्ध गराउने तथा पालिकास्तरबाटै राष्ट्रिय परिचयपत्र भर्ने व्यवस्था मिलाउने बारेमा आवश्यक परामर्श गर्न निर्देशन दिनुभएको हो ।
यसैगरी, जिल्लाका विभिन्न स्थानमा वर्षाैँदेखि बिग्रिएको सडक मर्मतका लागि तुरुन्तै पहल सुरु गरेर कुन कामलाई के कति समय लाग्ने हो त्यसको कार्ययोजना बनाएर काम गर्नको लागी पूर्वाधार विकास कार्यालय, सडक डिभिजन नुवाकोट सहितको निकायलाई निर्देशन दिनुभएको छ ।
उहाँले मुआब्जा विवादका कारण स्तरोन्नति रोकिएको गल्छी–रसुवागढी सडक अन्तरगत पिपलटारदेखि ढुङ्गेुसम्मको स्तरोन्तीको लागी कानूनी समस्या नहुने गरेर अहिले भएका खाल्डाखुल्डी पुर्न, भत्किएका ढलनाली बनाउनको लागी काम सुरु गर्न निर्देशन दिनुभएको छ भने निर्माण व्यावसायीको कारण अलपत्र परेको बालाजु–रानीपौवाहुदै पिपलटार आउने सडकको स्तरोन्नतीका लागि सम्बन्धित पक्षसँग छलफल र सुधारमा आफ्नो तर्फबाट पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
यसैगरी, सासद् केसीले खेतीपातीको समयमा कृषकले मल नपाएको विषयमा जिल्लामा थप मल ल्याउनको लागी पहल गर्ने आश्वासन दिनुभएको छ भने त्यसका लागि सरकारीस्तरबाट आवश्यक प्रतिवेदन अघि बढाउनको लागी पनि भन्नुभएको छ ।

यस्तै नुवाकोटको त्रिशूली अस्पतालले सामान्य उपचार सेवा समेत नगरी काठमाडौं लगायत अन्य अस्पतालमा पठाउने गरेको गुनासोहरु नागरिकस्तरबाट आफूलाई आइरहेकाले उत्कृष्ट भनिएको अस्पतालको सेवा सुधारको लागी अस्पताललाई निर्देशन दिन र अस्पतालमा अभाव रहेको दरबन्दी, उपकरण लगायतका समस्या भएमा त्यसको लागी आफूले पहल गर्ने बताउनुभएको छ ।
उहाँले संसदीय राजनीतिमा यो आफ्नो अन्तिम पटकको प्रतिष्पर्धाबाट प्राप्त नतिजा भएकाले जनताको अभिमतलाई सम्मान गरेर जनताको सेवकको रुपमा सक्रिय रहने भएकाले कही कतै जनतार्लाइ जिल्लाका सरकारी सेवा प्रवाह, स्थानीयतह, प्रहरी–प्रशासन, सहित जनताको दैनिक जीवनसंग जोडिएका समस्यामा भएमा समेत यथार्थ बुझेर समाधानको लागी पहल गर्ने आश्वासन दिनुभएको छ ।
15.19¡ÆC