प्रचण्डको निर्वाचन क्षेत्र गोरखा–२ मा मतगणना सुरु हुँदै

गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’को उम्मेदवारी रहेको गोरखा क्षेत्र नम्बर २ मा मत गणना सुरु गर्न लागिएको छ ।

गोरखा नगरपालिका वडा नम्बर ९ को दलभञ्ज्याङस्थित भू तथा जलाधार व्यवस्थापन कार्यालय, कार्यक्रम कार्यान्वयन इकाईको भवनमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा मतगणना सुरु गर्न लागिएको हो । अहिले प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतगणना सुरु गर्न लागिएको निर्वाचन अधिकृत नारदप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

यो क्षेत्रको प्रतिनिधिसभातर्फ गठबन्धनबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष सहित १२ जना तथा प्रदेश सभा १ र २ मा ७÷७ जना उम्मेदवार रहेका छन् । यो क्षेत्रमा प्रतिनिधिसभातर्फ १ लाख ५ हजार २४० जना मतदाता रहेकोमा करिब ५१ प्रतिशत मत खसेको बताइएको छ ।

क्षेत्र नम्बर २ मा ९३ मतदान स्थल तथा १ सय ४६ मतदान केन्द्र रहेका छन् । क्षेत्र नम्बर २ का ६ वटा मतदान केन्द्रमा धाँधली भएको भन्दै पुनः मतदान गराउन माग गरेका दल र उम्मेद्वारहरु पनि मतगणनामा भने सहभागी भएका छन् ।

प्रतिक्रिया

TOP