समृद्धिको सपनालाई साकार पार्ने अभिभारा हामी पूरा गर्छौं : पराजुली

कार्तिक २४, २०७९ मा प्रकाशित | 257 views

गणेश पराजुली

प्रतिनिधिसभा सदस्य उम्मेदवार,

काठमाडौं क्षेत्र नम्बर ७

राष्ट्रिय स्वतन्त्र पार्टी

गणेश पराजुली लामो समय देखि विभिन्न पेशा व्यवसाय र सामाजिक गतिविधिहरुमा संलग्न प्रतिष्ठित उद्यमी हुन् । मूलतः उनले विगत लामो समय देखि प्राकृतिक रेशाजन्य उत्पादन गाँजाबाट नेपालमा कपडाहरु उत्पादन गरी बाह्य मुलुकहरुमा निर्यात गर्दै आएका छन् । सकारात्मक एवं नवीनतम सोचका धनी पराजुली मुलुकको विकास र समृद्धि प्रति नै आफ्नो ध्यान सदैव केन्द्रित रहँदै आएको बताउँछन् । अब मुलुकको परिवर्तनको जिम्मेवारी दृढ अठोट र सकारात्मक योजना भएका उत्साहित युवा व्यक्तिहरुले लिनुपर्छ भन्ने मान्यता सहित आफूले यसपटकको प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएको उनी दावी गर्छन् । अग्रजका अनुभव र युवाहरुको उत्साहलाई साथमा लिँदै दिगो विकासका रणनीतिहरु तयार गरी तिनलाई सार्थक बनाउने विशेष योजना सहित भर्खर मात्रै आफ्नो पार्टीले यसपटकको चुनावी वाचापत्र सार्वजनिक गरेको पराजुलीले बताए ।

पराजुली नेपाल थुप्रै सम्भावनाले भरिएको र यहाँका अधिकांश प्राकृतिक स्रोतसाधनहरुको उपयोग हुन नसकेको स्थितिमा यहीँका सम्भावनाहरुबाट समृद्धि सपना साकार पार्न सकिने कुरामा जोड दिन्छन् । अहिले पनि मुलुकका युवाहरुले सही तवरले स्थान पाउन नसकेकोमा उनी चिन्तित छन् ।

विभिन्न उत्पादनमूलक क्षेत्रहरुमा आफ्नो लगानी विविधिकरण गरेका पराजुली नेपाली युवा एवं व्यावसायिक क्षेत्र माझ बढी परिचित समेत छन् । लायन्स क्लब, नेपाल निर्यात परिषद् लगायतका विभिन्न सामाजिक संस्थाहरुमा समेत संलग्न पराजुली मुलुकको विकासको निम्ति युवा शक्तिको सही उपयोग हुनुपर्ने कुरामा विशेष जोड दिन्छन् । सही व्यक्ति नीति निर्माण तथा नेतृत्व तहमा पुग्न सकेको खण्डमा मुलुकले अपेक्षाकृत परिणाम हासिल गर्न सक्ने कुरामा जोड दिन्छन् ।

यसपटक तपाईले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’बाट नै किन उम्मेदवारी दिनुभयो ? भन्ने सञ्चारकर्मीको प्रश्नमा पराजुली मुलुकको विकासको लागि कटिबद्ध उत्साहित स्वतन्त्र व्यक्तिहरुलाई एकत्रित गरिरहेको अहिलेको जल्दोबल्दो र भविष्य बोकेको एकमात्र राजनीतिक पार्टी यही ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नै भएको र यसै दलले मुलुकको भाग्य र भविष्यको रुपरेखा कोर्न सक्ने देखेर आफू यस पार्टीमा संलग्न भई यसै पार्टीबाट उम्मेदवारी दिएको बताउँछन् । साथै पराजुली यस ‘राष्ट्रिय स्वतन्त्र पार्टी’बाट उम्मेदवारी दिएका सबै उम्मेदवारहरु आफ्ना एजेण्डा एवं वाचाहरुलाई साकार पार्न सक्षम रहेकाले ढुक्क भएर घण्टी चुनाव चिन्हमा मतदानको लागि आग्रह समेत गर्दछन् ।

मंसीर ४ मुलुकको दिगो भविष्य निर्माणको लागि निर्णायक घडी हुने भएकोले कोही कसैबाट प्रभावित नभई आफ्नो स्वविवेक प्रयोग गरेर मतदान गर्न समेत पराजुली मतदाताहरुलाई आग्रह गर्दछन् । साथै नेपालको लागि यो पार्टी नयाँ भएपनि घरदैलो कार्यक्रमको क्रममा जनताको उत्साह र उमङ्गले आफूहरुलाई निरन्तर रुपमा अघी बढ्न थप बल प्रदान गरेको दावी समेत गर्छन् उनी ।

जनतालाई सूचनाको हक प्रति जागरुक बनाउने

‘राष्ट्रिय स्वतन्त्र पार्टी’ले सुशासन सहितको समृद्धिलाई विशेष महत्व दिएको पराजुलीको धारणा छ । यसका लागि सरकारका सबै तह र निकायबाट हुने सेवाप्रवाहलाई चुस्तदुरुस्त र व्यवस्थित बनाउने कार्य पहिलो सर्त हुने पराजुलीको दावी छ । सार्वजनिक निकायबाट प्रवाह हुने सेवा सेवाग्राहीमैत्री बनाउनको लागि व्यवस्थित सूचना सम्प्रेषण कार्यको भूमिका अत्यन्तै महत्वपूर्ण हुने कुरामा समेत उनी जोड दिन्छन् । सबै नागरिकहरुको चाहना सुशासन सहितको समृद्धि नै भएकोले मुलुकमा भएका विकृति, विसङ्गति र भ्रष्टाचारको उन्मूलन गर्न सबै नागरिकमा सचेतना जागरणको भूमिका अत्यन्तै महत्वपूर्ण रहने पराजुलीको बुझाई छ ।

स्वतन्त्र व्यक्ति राष्ट्रपति हुनुपर्ने मुख्य एजेण्डा

राष्ट्रिय स्वतन्त्र पार्टीले देशको आगामी मार्गचित्र कस्तो हुनुपर्छ भन्ने सम्बन्धमा सम्पूर्ण विषयवस्तुहरुलाई समेटेर भर्खर मात्र (यही कात्तिक १७ गते) चुनावी वाचापत्र सार्वजनिक गरेको छ । जसमा मूलतः स्वतन्त्र व्यक्ति राष्ट्रपति हुनुपर्ने र प्रधानमन्त्री कार्यकारी हुनुपर्ने मुख्य एजेण्डालाई प्राथमिकतामा राखेको छ । जसमा राष्ट्रपति हुनको लागि कुनै राजनीतिक दलमा नलागेको स्वतन्त्र व्यक्ति हुनुपर्ने बुँदालाई विशेष जोड दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web