नुवाकोटका किसानहरु धान–कोदो भित्र्याउन व्यस्त भएसगैँ गाँउघरमा चुनावी रौनक कम

कार्तिक २४, २०७९ मा प्रकाशित | 263 views

काठमाडौँ । आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि नुवाकोटमा राजनीतिक दल र उम्मेदवार अहिले चुनावी प्रचारको अभियानमा जुटेका छन् ।

निर्वाचनमा आआफ्ना ऐजेण्डा सहित उम्मेदवार मतदाता समक्ष पुगेका छन् । तर, जिल्लाका किसानलाई भने बर्ष भरि आफुले गरेको मेहनतको खेतीबाली धान भित्र्याउन चटारो अझै बाँकी रहेको छ । शहर बस्ने नेताहरु भोट माग्न गाउँमा जाँदा अधिकांस मतदाता भने खेतबारीमा भेटिने गरेका छन् ।

चुनाव आउन अब १० दिन मात्रै बाँकी रहदा किसानहरु भने वर्षदिनको अन्न धान स्याहार्ने कामलाई महत्वको रुपमा लिएर व्यस्त भएका छन् । माथिल्लो गाँउ क्षेत्रका किसानलाई अहिले धान भित्र्याउन भ्याइनभ्याई रहेको छ भने उम्मेदवारलाई गाउँ टोलका बस्तीमा गएर मतदातासंग भोट माग्न भ्याइनभ्याई भएपनि मतदाता संग चुनावी रौनकलाई जोड्न भने सकेको देखिएको छैन ।

दलका नेता तथा उम्मेदवार गाउँ पुग्दा धान काट्न खेत र कोदो टिप्न बारीमा गएका किसानलाई भेट्न मेलापातमै पुग्ने गरेको दृष्य र फोटोहरु तिनै नेताहरुले प्रचारको लागी राख्ने गरेको देखिएको छ ।

यसअघिको निर्वाचनमा भने मत माग्न जाने नेताको स्वागतको लागी भेला हुने शुभेच्छुक तथा सर्वसाधारण मतदाता यसपालीको चुनावले खेतीपातीमा व्यस्त देखिएका छन् । गठबन्धन गरेको कारण चुनावको हारजितको आकडा निकालेका नेताहरुलाई पनि चुनाव लागेको छैन भने मतदातालाई पनि कामको चटारो र उम्मेदवार तथा दलले पनि खोजि नगर्दा यो पटकको चुनावमा गाँउगाँउमा रौनकता निकै कम देखिएको छ ।

चुनावको बेला राजनीतिक दल तथा उम्मेदवार आफ्नो घोषणापत्रमा कृषिसम्बन्धी समस्या तथा सवाललाई मुद्दा बनाउने गरेपनि किसानहरुले समयमै रासायनिक मल नपाएको पीडा र आक्रोशले उम्मेदवारहरुलाई अहिले पनि मत माग्न जादाँ गिज्याइरहेको छ । यसपालीको चुनावमा दलहरुले आफ्नो घोषणापत्रमा कृषिका सवालमा रासायनिक मल उपलब्ध गराउन पहल गर्ने लगायतका विषयलाई प्रथामिकता दिएको भएपनि किसानले भने त्यसलाई भोट फकाउन खोजेको भन्दै पत्याउन नसक्ने बताएका छन् ।

नुवाकोटको मुख्य पेश कृषि र याँहा धेरै मतदाता यही कृषि पेशामा नै आबद्ध भएकाले पनि उनीहरुको लागी अहिलेको चुनाव भन्दा कृषि कर्म नै प्यारो भएको छ । अनि मत दिनको लागी पनि किसानलाई समयमै मल उपलब्ध गराउने, सिचाई सुविधाको योजना दिने, उत्पादन भएको कृषी सामाग्रिलाई सहजै बजाउन लैजानको लागी कृषि उपज सामाग्रिको संकलन केन्द्र, कोल्डस्टोरको प्रबन्ध मिलाउने नेताहरुको खोजीमा रहेका छन् । तर, तिनै नेताहरु जो किसानको लागी आएका योजनामा कमिसन खाने, अनुदान ल्याएर बनाएका कोल्ड स्टोरमा किसानलाई कृषि उब्जनी राख्न नदिने देखि कोल्डस्टोरमा कृषि सामाग्रि राख्न दिएर अनिवार्य रुपमा सहुलियत दिनुपर्ने भएपनि नदिएर कालोबजारी गर्ने नेताहरु अहिले उम्मेदवार भएकाले पनि नेताहरु किसानसंग भोट माग्न जान सकेका छैनन भने किसान पनि उम्मेदवारसंग असन्तुष्ट भएकाले अहिलेको चुनावी माहोल गाँउका वस्ती र मेलापातमा पुग्न नसकेको देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web