दल तथा उम्मेदवारको चुनावी प्रचारप्रसार आजदेखि

कार्तिक १७, २०७९ मा प्रकाशित | 214 views

दल तथा उम्मेदवारको चुनावी प्रचारप्रसार आजदेखि

काठमाडौँ । निर्वाचन आचारसंहिता अनुसार आजदेखि दल तथा उम्मेदवारले चुनावी आमसभा, जुलुस, गोष्ठी, कोणसभालगायतका गतिविधि गर्न पाउने भएका छन् । आजदेखि मंसिर १ गतेसम्म दल तथा उम्मेदवारले चुनावी प्रचारप्रसार गर्न सक्नेछन् । यो अवधिमा जुलुस, आमसभा र कोणसभा गर्न पाइनेछ ।

आजदेखि प्रचारप्रसार गर्न पाउने भएपछि दलका शीर्ष नेताहरू विभिन्न कार्यक्रममा सहभागी हुन देश दौडाहामा निस्कन थालेका छन् । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार शून्य समय लागू हुनु ४८ घण्टा अगाडिसम्म दल तथा उम्मेदवारलाई निर्वाचन आचारसंहिताको पूर्ण पालना गरी प्रचारप्रसारका गतिविधि गर्न दल तथा उम्मेदवारलाई आग्रह गर्नुभयो । प्रमुख आयुक्त थपलियाले आचारसंहिता नैतिक र कानुनी बन्धन भएकाले यसलाई सबैले पालना गर्नुपर्नेमा जोड दिनुभयो ।

आयोगले राजनीतिक दललाई बढीमा साढे ५ करोड रुपैयाँसम्म खर्च गर्न पाउने सीमा तोकेको छ । दलहरूले तोकिएको सीमाभित्र रहेर प्रचारप्रसार सामग्री, गोष्ठी, अन्तरक्रिया, सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रचार, कार्यालय सञ्चालन, प्रतिनिधि परिचालनलगायतमा रकम खर्च गर्न सक्नेछन् ।

प्रधानमन्त्री र मन्त्री मुख्य प्रचारक भएमा सरकारी स्रोत–साधनको प्रयोग नगरि प्रचारमा जान पाउने आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताउनुभयो । प्रधानमन्त्री र मन्त्रीहरू आफ्नो क्षेत्रबाहेक अर्कोमा प्रचारमा जानुपरेमा आयोगबाट अनुमति लिनुपर्ने हुन्छ ।

आफैँ उम्मेदवार भएका मन्त्री आफ्नो क्षेत्रमा प्रचारप्रसारमा जान पाउने तर सरकारी साधन–स्रोतको प्रयोग गर्न नपाउने आचारसंहितामा उल्लेख छ । पालिकाका जनप्रतिनिधिले सरकारी सुविधामा चुनावी प्रचार गर्ने तथा आफ्नो क्षेत्रमा प्रचारमा सहभागी हुन पाउनेछैनन् । निर्वाचन आयोगले उम्मेदवारलाई आफ्नो चुनाव क्षेत्रमा भएको आमसभा वा कोणसभाका लागि मञ्च बनाउँदा लागेको खर्च विवरण चुनाव सकिएको १५ दिनभित्र पेस गर्न निर्देशन दिएको छ ।

प्रचारप्रसार गर्दा सार्वजनिक सम्पत्ति विद्यालय तथा व्यक्तिको निजी सम्पत्तिमा असर पुर्याउन नहुने तथा चुनावी गतिविधिमा बालबालिकाको प्रयोग गर्न नपाइने आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले बताउनुभयो। त्यस्तै जुलुस, आमसभा, कोणसभा वा भेला गर्नुभन्दा २४ घण्टाअघि नै स्थानीय प्रशासनमा जानकारी गराउन पनि उहाँको आग्रह छ ।

राष्ट्रिय झण्डा १० वटाभन्दा धेरै प्रयोग नगर्न, चर्को आवाज नगर्न, दलको लोगोसहितका स्टिकर, कपडा, टोपी, टिसर्ट, ज्याकेट र झोला बोक्न र बाँड्न पनि आचारसंहिताले रोक लगाएको छ । बेलुका ७ बजेपछि प्रचारप्रसारका गतिविधि नगर्न पनि आयोगले निर्देशन दिएको छ ।

दल र उम्मेदवारले आचारसंहिताको पालना गरी सञ्चारमाध्यमबाट प्रचारप्रसार गर्न सक्नेछन् । आचारसंहिता उल्लङ्घन भएको पाइएमा आयोगको निःशुल्क नम्बर ११०२ वा आयोगको वेबसाइटलगायतमा सूचना दिन सकिने पनि निर्वाचन आयोगले जनाएको छ । चुनाव आउन अब १७ दिन मात्रै बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web