नुवाकोटमा चालक तथा सहचालकसंग दुई मिनेट कार्यक्रम सुरु

अशोज १, २०७९ मा प्रकाशित | 332 views

त्रिशुली । जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले चाडपर्व लक्षित चालक तथा सहचालकसंग दुई मिनेट कार्यक्रम सुरु गरेको छ ।

चाडपर्वको समयमा हुनसक्ने सवारी दुर्घटनालाई न्यूनीकरण गर्न तथा यात्रुबर्गहरुको यात्रालाई सहज बनाउन भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले बिदुर नगरपालिका वडा नम्बर २ स्थित बिदुरचोकबाट चालक तथा सहचालकलाई ट्राफिक प्रहरीको दुई मिनेट कार्यक्रम सुरु गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका वरिष्ठ प्रहरी नायब निरीक्षक गुणनिधी खकुरेलले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार चालक तथा सहचालकलाई ट्राफिक प्रहरीको दुई मिनेट कार्यक्रममा चालक तथा सहचालकले ‘म यात्रुलाई सम्मानजनक व्यबहार गर्छु, तोकिएको भाडादर कायम गर्छु, ट्राफिक नियमको पालना गर्छु, आरक्षण सिटको ब्यबस्था अनुसार यात्रु ब्यबस्थापन गर्नेछु, अपांग, असहाय र विद्यार्थीलाई भाडादर छुट गर्छु र म चालक तथा सहचालक भएकोमा आफ्नो काम प्रति गर्व गर्दछु’ भन्दै हस्ताक्षर सहितको प्रतिबद्धता जनाउनेछन् ।

‘हर प्रहर, गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी’ भन्ने नारा सहित आजदेखि सुरु गरिएको चालक तथा सहचालकलाई ट्राफिक प्रहरीको दुई मिनेट कार्यक्रम आगामी दिपावलीसम्म संचालन गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
कार्यक्रमको पहिलो दिन आज ५० भन्दाबढी चालक तथा सहचालकलाई दुई मिनेटको प्रशिक्षण दिईएको छ । यो अभियान अब निरन्तर चल्ने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web