मिटरब्याजी अपराध नियन्त्रण गर्न कार्यदल गठन

साउन २७, २०७९ मा प्रकाशित | 330 views

काठमाडौँ । सरकारले मिटरब्याजी अपराध नियन्त्रण कार्यदल गठन गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णयबाट ६ सदस्यीय कार्यदल गठन गर्नुभएको हो ।

गृह मन्त्रालयका सह–सचिव डा. भीष्म भुसालको संयोजकत्वमा रहेको कार्यदलमा नेपाल प्रहरीका केन्द्रीय अनसुन्धान ब्युरोमा कार्यरत वरिष्ठ उपरीक्षक दिनेश आचार्य, गृह मन्त्रालयका कानुन उपसचिव श्रीकृष्ण पौडेल, नेपाल प्रहरीको अपराध अनुसन्धान शाखामा कार्यरत प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइराला, राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक मुकुन्द मरहठ्ठा सदस्य रहनुभएको छ ।

कार्यदलको सदस्य सचिव नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा कार्यरत नायब उपरीक्षक रोशन खड्कालाई मनोनयन गरिएको गृह मन्त्रालयले जनाएको छ । कार्यदललाई एक महिनाभित्र प्रतिवेदन बुझाउने कार्यादेश दिइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज शुक्रवार बिहान गृहमन्त्री खाण, नेपाल प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंह, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल र गृह मन्त्रालयका सहसचिवलाई बोलाएर मिटरब्याजीसम्बन्धी समस्या समाधानका लागि उपायहरू पहिचान गरी अपराधीलाई कानुनी कारबाहीको दायरामा ल्याउन र भविष्यमा यस्ता अपराध हुन नदिन आवश्यक पहलकदमी लिन निर्देशन दिनुभएको थियो ।

कार्यदललाई मिटरब्याजी समस्या बढी भएका जिल्लामा स्थलगत भ्रमण गरी समस्याका कारक तथा समाधानका उपायहरू पहिचान गर्ने, मिटरब्याजी अपराधमा संलग्न व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन अन्तरनिकाय समन्वय र सहकार्य गर्ने तथा आउँदा दिनमा यस्तो अपराध न्यूनीकरण गर्न अवलम्बन गर्नुपर्ने उपायहरूका सम्बन्धमा सिफारिससहितको प्रतिवेदन पेस गर्ने लगायतका कार्यादेश दिइएको छ । विभिन्न जिल्लाका मिटरब्याज पीडितहरूले काठमाण्डौमा समेत प्रदर्शन गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web