वाग्मती प्रदेशमा लाइसेन्सका लागि आवेदन दिनेको चाप बढेपछि कोटा बढाइयो

साउन २७, २०७९ मा प्रकाशित | 308 views

काठमाडौँ । सवारी चालक अनुमति पत्र लाइसेन्सका लागि आवेदन दिनेको चाप बढेपछि वाग्मती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले कोटा थप गरेको छ।

आवेदकहरुको चापलाई व्यवस्थापन गर्न भन्दै आजदेखि आवेदन दिन सकिने सङ्ख्या बढाइएको हो।

मन्त्रालयले गएको असार २८ गते तोकिएको कोटामा १ हजार २ सय १५ जना थप गरी ३ हजार ६ सय ७५ पुर्याएको यातायातमन्त्री घनश्याम दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार बिचौलियाले चलखेल गर्न नपाउन् भनेर दिउँसो साढे ४ बजेको समय नै तोकेर कोटा थप्ने स्पष्ट व्यवस्था मिलाइएको छ । यसअघि पालो कुरेर बसेका वा अनलाइन फाराम भर्न नसकेका १८ हजार २ सय २५ जनाले १५ दिनभित्रै पालो पाउने गरी आवेदन दिनसक्ने व्यवस्था मिलाइएको मन्त्री दाहालको भनाइ छ ।

ललितपुरको एकान्तकुना, काठमाण्डौको ठूलो भर्याङ र चाबहिल, भक्तपुरको राधेराधे र मकवानपुरको हेटौँडा कार्यालयमा दिउँसो साढे चार बजेदेखि लागू हुने गरी आवेदन सङ्ख्या बढाइएको हो । सेवाग्राहीले अनलाइनमार्फत आवेदन दिन सक्नेछन् ।

अत्यधिक चापका कारण वा दैनिक कोटा सकिएको भए पनि अर्को मितिको लागि आवेदन दिन सकिन्छ । वाग्मती प्रदेश मातहतको यातयातसम्बन्धी सबै सेवा प्रवाहको तथ्याङ्कलाई दैनिकरूपमा वेबसाइटमै राख्ने तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web