देवीघाट । नुवाकोटको देविघाटमा रहेको पृथ्वी स्मारक क्षेत्रमा निर्माण गरिएको नयाँ संरचनाको उद्घाटन तथा पत्र हस्तान्तरण गरिएको छ ।
पृथ्वी स्मारक क्षेत्रमा भएको एक औपचारिक कार्यक्रम मार्फत नेपाली सेनाका मध्य कमाण्ड हेड क्वाटरका कमाण्ड सेनापति उपरथी बाबुराम श्रेष्ठले सम्पन्न संरचनाको उदघाटन गरी पृथ्वी स्मारक संरक्षण समितिका अध्यक्ष गोविन्दलाल चित्रकारलाई मंगलबार पत्र हस्तान्तरण गर्नुभएको हो ।
जबरजंग गण देवीघाटको व्यवस्थापनमा पृथ्वी स्मारक संरक्षण क्षेत्रको पर्खाल तथा बार, शालिकको संरक्षण, विश्राम गर्ने स्थल र उद्यान भित्र शौचालय निर्माण गरिएको छ । स्मारक क्षेत्रमा निर्माण गरिएको नयाँ संरचना तथा मर्मतसम्भारमा २२ लाख ४७ हजार रुपैयाँ लगानी भएको जबरजंग गणका प्रमुख सेनानी अरुण कार्कीले जानकारी दिनुभएको छ । उहाँका अनुसार स्मारक संरक्षणको लागी ३४० फिटको स्टील बार र २०५ मिटरको दायाबाया फलामको बार लगाइएको छ । यस्तै, २०५ मिटर लम्बाईको दायाँबाया तीनतर्फी पर्खाल समेत बनाएको छ ।

कार्यक्रममा मध्ये कमाण्ड हेड क्वाटरका कमाण्ड सेनापति (उपरथी) बाबुराम श्रेष्ठले नागरिकसंग प्रत्यक्ष सम्पर्क एंवम सहयोगी भूमिकामा रहने, तत्काल राहतको अनुभूती दिलाउने उद्देश्यले नेपाली सेनाले शिघ्र प्रभावित आयोजना कार्यक्रम सञ्चालनमा ल्याइएको जानकारी दिनुभएको छ । उहाँको अनुसार सोही कार्यक्रम मार्फत नै पृथ्वी स्मारकको संरक्षणको काम गरिएको हो ।
शिघ्र प्रभावित आयोजना मार्फत नेपाली सेनाले नागरिकलाई प्रत्यक्ष लाभ पुराउने कार्यक्रमलाई आगामी दिनमा निरन्तरता दिने जनाएको छ । आगामी दिनमा दुर्गम स्थानहरूमा हेलिप्याड निर्माण गर्ने लक्ष्य रहेकाले सोही कार्यक्रम पनि नुवाकोट लगायतका जिल्लाको लागी समावेश गर्न सकिने मध्ये कमाण्ड हेड क्वाटरका कमाण्ड सेनापति (उपरथी) बाबुराम श्रेष्ठले जानकारी दिनुभएको छ ।

कार्यक्रममा विदुर नगरपालिकाको नगरप्रमुख राजन श्रेष्ठले शान्ति सुरक्षा, धार्मिक तथा साँस्कृतिक सम्पदाको संरक्षण, विकास निर्माण लगायतको कार्यहरूमा नेपाली सेनाले पुराएको योगदानको प्रसंशा गर्नुभएको छ । देविघाटमा रहेको पृथ्वी स्मारकमा फूलबारी बगैचाको लागि विदुर नगरपालिकाले पनि चालु आर्थिक वर्षमा १५ लाख रुपैया छुट्टाएर फूलबारी निर्माण गर्न लागिएको नगरप्रमुख राजन श्रेष्ठले जानकारी दिनुभएको छ ।
राष्ट्र निर्माता पृथ्वीनारायण शाहले पुराएको योगदानको नुवाकोटमा मात्र नभई राज्यको माथिल्लो निकायले समेत त्यसको संरक्षण, सम्बद्र्धन तथा प्रचारमा ध्यान दिनुपर्ने पृथ्वी स्मारक संरक्षक समितिका अध्यक्ष गोविन्दलाल चित्रकारले बताउनुभएको छ ।
पृथ्वीनारायण शाहको देहवासन भएको स्थल विदुर नगरपालिका वडा नं. ५ देवीघाटमा निर्माण गरिएको स्मारक क्षेत्रको नेपाली सेनाको सहयोगले नयाँ संरचनाको निर्माण, जीर्ण रहेका संरचनाको मर्मतसम्भार सहितको स्मारकलाई आकर्षक बनाउन नेपाली सेनाले पुराएको योगदानको संरक्षक समितिका अध्यक्ष गोविन्दलाल चित्रकारले प्रशंसा गर्नुभएको छ ।

कार्यक्रममा विदुर नगरपालिकाको उपप्रमुख प्रभा बोगटी, प्रमुख जिल्ला अधिकारी नाराणप्रसाद रिसाल, विदुर नगरपालिका वडा नंं ३ का वडाध्यक्ष बद्री रिमाल, वडा नं. ५ का वडाध्यक्ष लिलानाथ न्यौपाने लगायत विभिन्न संघ सस्थाको प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो । स्थानीयतहसंगको सहकार्यमा नेपाली सेनाले एक वर्षको अवधिमा निर्माण गरेको नयाँ संरचनाले पृथ्वीनारायण शाहको स्मारक क्षेत्रमा धार्मिक सहित पर्यटकीय प्रचारको लागी समेत सहयोग पुग्ने विश्वास लिइएको पृथ्वी स्मारक संरक्षक समितिका प्रचारप्रसार उपसमितिका संयोजक रामकृष्ण भट्टले बताउनुभएको छ ।
उहाँको अनुसार स्मारक क्षेत्रलाई थप सुधारको लागी मूलढोकाको निर्माण, व्यवस्थित फूलबारी, स्मारक क्षेत्रको नाममा कार्यालय स्थापना गरेर कर्मचारीको व्यवस्थापन र राष्ट्र निर्माता पृथ्वीनारायण शाहको अन्तिम सँस्कार गरिएको स्थान त्रिशूली र तादीको संगम स्थान देवीघाटमा रहेको ढुङ्गाको संरक्षण सहित प्रचारप्रसार गर्नुपर्ने देखिएको छ ।
25.12¡ÆC