एसईई नतिजा साउन १० गते सार्वजनिक हुँदै

साउन ६, २०७९ मा प्रकाशित | 333 views

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा साउन १० गतेभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले एसईईको नतिजा सार्वजनिक गर्नका लागि आवश्यक काम भइरहेको जानकारी दिनुभयो । उहाँले नतिजामा प्राविधिक रूपमा कुनै समस्या नआओस् भनेर विद्यार्थीको विवरणहरू रुजु गर्ने कामलाई कडाइका साथ निगरानी गरिरहेको बताउनुभयो ।

अध्यक्ष शर्माले भन्नुभयो, ‘विगतमा नतिजा सार्वजनिक भएपछि कहिले जन्म मिति, कहिले अङ्क, त कहिले के मिस्टेक भयो भन्दै सच्याउन आउनेको भिड हुन्थ्यो, त्यसलाई मध्यनजर गर्दै बरु केही दिन नतिजा ढिला होस् तर नतिजा सार्वजनिक भएपछि सकेसम्म विद्यार्थीले विभिन्न विवरण सच्याउन फेरि धाउन नपरोस् भनेर यस पटक अलि कडाइका साथ विवरण रुजु गर्ने काम भइरहेको छ ।’ उहाँले सबै विवरण रुजु गरेर अन्तिम पटक पुनः जाँच गरेपछि आउँदो हप्ताको सुरुमै नतिजा सार्वजनिक गर्ने गरी तयारी गरेको बताउनुभयो । पालिका चुनावका कारणले पनि केही दिन नतिजा पर धकेलिएको उहाँको भनाइ छ ।

शिक्षाका कर्मचारीदेखि उत्तर पुस्तिका परीक्षणको जिम्मेवारी पाएका शिक्षक–शिक्षिका चुनावमा खटिएकाले उत्तर पुस्तिका परीक्षणमा पनि केही ढिला हुँदा नतिजा सार्वजनिक गर्न पनि केही दिन ढिलाइ हुन गएको उहाँको भनाइ छ । डा. शर्माले भन्नुभयो, ‘हाम्रो लक्ष्यभन्दा केही दिन नतिजा ढिलो भए पनि शैक्षिक सत्रलाई असर पर्ने गरी ढिला हुँदैन, हामी नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमै छौँ, आउँदो हप्ताको सुरुमै नतिजा सार्वजनिक गर्ने तयारीमा छौँ ।’

एसईईका परीक्षा नियन्त्रक अर्जुन रायमाझीले नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमा रहेको बताउँदै कुनै समस्या नआए १० गतेभित्र र अन्यथा १२ गतेसम्म नतिजा सार्वजनिक गर्ने बताउनुभयो । अहिले उत्तर पुस्तिका परीक्षणको काम सम्पन्न गरी सम्परीक्षणको कामसमेत अन्तिम चरणमा पुगेको जानकारी दिँदै उहाँले कम्प्युटरमा इन्ट्री गर्ने, रुजु गर्नेलगायत काम भइरहेको जानकारी दिनुभयो ।

कोरोनाका कारण दुई वर्ष आन्तरिक मूल्याङ्कनबाट नतिजा सार्वजनिक भए पनि यस वर्ष बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै गएको वैशाख ९ गतेदेखि २० गतेसम्म परीक्षा सञ्चालन गरेको थियो । दुई हजार सात परीक्षा केन्द्रबाट ११ हजार ६ सय १५ विद्यालयका दुई लाख ५७ हजार नौ सय २४ छात्रा र दुई लाख ५७ हजार ५३ छात्र गरी पाँच लाख १४ हजार नौ सय ७७ परीक्षार्थीले परीक्षा दिएका परीक्षा नियन्त्रक रायमाझीले जानकारी दिनुभयो । बोर्डले ६१ विषयमा परीक्षा सञ्चालन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web