त्रिशूली । नुवाकोटमा आज भएको छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको निधन भएको छ । ककनी गाँउपालिका–१ मा मिनीट्रक दुर्घटना हुदाँ एक महिला र लिखु गाँउपालिका–६ मा भएको मोटरसाइकल दुर्घटनामा एकजना पुरुषको निधन भएको हो । जिल्लाको ककनी गाँउपालिका–१ स्थित महालक्ष्मीथानमा आज (आइतबार) भएको मिनीट्रक दुर्घटना हुदाँ सोही स्थानको बसन्ती बलामीको निधन भएको छ ।
ओखरपौवाबाट तरकारी लिएर काठमाडौ जान लागेको बा.४ ख ३७२८ नं.को मिनीट्रक अनियन्त्रित भएर सडकबाट २० मि. तल पुग्दा ३२ वर्षीया बलामीको घटनास्थलमा निधन भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख (प्रहरी उपरीक्षक) रामप्रकाश शाहले जानकारी दिनुभयो । उहाँको अनुसार मिनीट्रकमा यात्रा गरिरहेका अन्य पाचजना घाइते भएकाले उपचारको लागी काठमाडौ पठाइएको छ ।
घाइते हुनेमा ककनी–१ का २१ वर्षका रमेश बलामी, ३० वर्षका बिष्णु बलामी, ३२ वर्षका सरस्वती बलामी र नानु बलामी तथा ४४ वर्षको मानबहादुर बलामी रहेका छन् । दुर्घटना पश्चात मिनीट्रकका चालक फरार भएकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै, लिखु गाँउपालिका–६ मा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा सोही स्थानका २९ वर्षीय करण केसीको निधन भएको नुवाकोटका प्रहरी प्रमुख शाहले जानकारी दिनुभयो । उहाँको अनुसार छहरे बजारबाट घरतर्फ जादै गरेका केसीले चलाएको ना.६२ प ९५२१ नं. को मोटरसाइकल मध्येपहाडी सडक मार्गको छहरे स्थित सडक छेउको विद्युतीय खम्बामा ठोक्किदा घाइते अबस्थामा उद्धार गरेर उपचारको लागी अस्पताल लगिएको थियो । उनको छहरेबजारमा रहेको सेवा सामुदायिक अस्पतालमा उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ ।

मृतक करण केसी ।
23.12¡ÆC